गाउँपालिकाको कार्यालयमा ताला लगाएपछि सेवा प्रवाहमा समस्या

  ०७८ मङ्सिर २ गते

सर्केगार्ड गाउँपालिकाको कार्यालयमा बाल विकास केन्द्रका सहजकर्ता र विद्यालयका कर्मचारीले कात्तिक २८ गतेदेखि ताला लगाएपछि सेवा प्रवाहमा समस्या भएको छ ।

गाउँपाकिलामा ताला लगाएपश्चात गाउँपालिकाबाट हुने सम्पूर्ण कार्यहरू रोकिएपछि हाल सेवाग्राहीलाई समस्या परेको वडा नम्बर ३ को लालसरा परियारले बताउनु भयो ।

आफू जन्म दर्ताको सिफारीस बनाउन गाउँपालिकाको कार्यालयमा जाँदा कार्यालय बन्द भएपछि घर फर्कनु परेको गुनासो गर्नु भयो ।

बाल विकासका सहजकर्ता र कर्मचारीको तलव बृद्धिका लागि गाउँपालिका गम्भीर नदेखिएको भन्दै ताला लगाउन बाध्य भएको प्रगति प्राविकी सहजकर्ता रुप्सी छत्यालले बताउनुभयो ।

यस्तै दुधकण्ड प्रावि रोडिकोटका बालविकासका सहजकर्ता हाँसबहादुर छत्यालले गाउँपालिकाले बृद्धि भएको तलब नदिएको भन्दै सबै सहजकर्ता र विद्यालयका कर्मचारी मिलेर तालाबन्दी गर्नुपरेको भनाइ राख्नुभयो ।

जिल्लाका अधिकांश गाउँपालिकाले आन्तरिक स्रोतबाट व्यवस्था हुने गरी बालविकास सहजकर्ता र विद्यालयका कर्मचारीलाई तलबको व्यवस्था गरेको अवस्थामा सर्केगाड गाउँपालिकाले सो व्यवस्था गर्न नसकेका कारण दबाब दिनकै लागि भए पनि ताला लगाउनु परेको  छत्यालको भनाई छ ।

सर्केगाड गाउँपालिकाका ३२ वटा विद्यालय मध्ये चार वटा मावि र २८ वटा प्राथमिक तथा आधारभूत विद्यालय रहेका छन् ।

आधारभूत र प्राथमिक सबै विद्यालयमा बालविकासका कक्षाहरू सञ्चालन हुँदै आएका छन् । ३२ जना विद्यालय कर्मचारी र बाल विकासका गरी ६० जनाले आन्दोलन गरेका हुन् ।

सर्केगाड गाउँपालिका अध्यक्ष कृष्ण रोकायाले गाउँपालिकाले अन्य कर्मचारीहरूलाई बजेटमार्फत पाएको २ हजार रूपियाँ मात्र दिन सकिने बताउनुभयो ।

आन्तरिक स्रोत नभएको भन्दै बाल विकास र विद्यालय कर्मचारीको बृद्धि भएको तलब सुविधा दिन नसकिने विद्यालयले जनाएको छ । तर सिमकोट र ताँजाकोट गाउँपालिकाले बृद्धि भएको तलब उपलब्ध गराइसकेका छन् ।


नन्द सिंह