गाउँपालिकामा कार्यरत कर्मचारीले तलब नपाएको गुनासो

  ०८१ असार २६ गते

चंखेली गाउँपालिकामा कार्यरत कर्मचारीले तलब भत्ता नपाएको गुनासो गरेका छन् । गाउँपालिका स्थायी कर्मचारीले तीन महिना र अस्थायी कर्मचारीले करिब दश महिनादेखि तलब नपाएको चंखेली गाउँपालिका–४ का वडा सचिव विजय कुमार शाहीले जानकारी दिनुभयो ।

तलब नपाउनेमा स्थायी २१ जना र करार नियुक्त अस्थायी ८२ जना कर्मचारी रहेका छन् । गाउँपालिका प्रशासन अन्तर्गत कार्यरत (करार) सेवाका अस्थायी कर्मचारीले सात महिनाको र शिक्षा क्षेत्रमा कार्यरत कर्मचारीले दश महिनाको तलब पाउन नसकेका हुन ।

यस्तै गाउँपालिकामा कार्यरत स्थायी २१ जना कर्मचारीले चैत महिनादेखि तीन महिनाको तलब पाउन नसकेको गुनासो गरेका छन् । काम गर्दा पनि तलब नपाएपछि घर खर्च चलाउन समेत समस्या भएको कर्मचारीले गुनासो पोख्नुभयो । अस्थायी कर्मचारीले भन्छन्, वर्षभरी काम गरियो, यो असार मसान्तमा तलब आउने आश गरियो तर तलब नपाउँदा घर खर्च कसरी चलाउने भनेर अहिले चिन्ता भएको दुखेसो गरेका छन् ।

वित्तिय समानीकरणको बजेट सबै फिर्ता हुँदा यो आर्थिक वर्षमा गाउँपालिकामा कार्यरत कर्मचारीले तलब पाउन नसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत परम पाण्डेले बताउनुभयो ।

वित्तिय समानीकरणको ८ करोड २० लाख रुपियाँ अर्थमन्त्रालयले फिर्ता लिनुका साथै कोलेनिकाले चेक काटेर बजेट फिर्ता लिएको हुँदा गाउँपालिकामा कार्यरत कर्मचारीले तलब भत्ता पाउन नसकेको अधिकृत पाण्डेको भनाई छ ।

गत आर्थिक वर्षको हिसाब मिलान नहुँदा राजस्व बाडफाडको २० लाख रुपियाँ समेत फिर्ता गएकोले स्थायी कर्मचारीले तीन महिनाको र अस्थायी कर्मचारीले झण्डै १० महिनाको तलब पाउन नसकेको अधिकृत पाण्डेले बताउनुभयो । मुख्यमन्त्री रोजगार र प्रधामन्त्री रोजगार बाहेक सबै शीर्षकको बजेट फिर्ता भएकाले गाउँपालिकामा समस्या बनाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत पाण्डे जानकारी गराउनुभयो ।


नन्द सिंह