गाउँपालिकामा अनौपचारिक क्षेत्र श्रमिककाे सामाजिक सुरक्षा शुभारम्भ

भीमफेदी गाउँपालिकाले योगदानमा आधारित अनौपचारिक क्षेत्रका श्रमिकहरूको सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको छ । भीमफेदी गाउँपलिकाले प्रतिनिधिसभा सभामुख देवराज घिमिरे मार्फत ०८० माघ १३ गते सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको हो ।

सामाजिक सुरक्षासम्बन्धी संवैधानिक हकलाई सुनिश्चित गर्नका लागि योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ ले औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन सक्ने व्यवस्था गरेको छ । अनौपचारिक क्षेत्रको मजदुरको न्यूनतम मासिक १० हजार ८ सय २० तोकेको छ । त्यसमा पन्जीकृत भएका मजदुरले ११ प्रतिशत (१ हजार १ सय ९० रुपियाँ) जम्मा गर्नुपर्ने र स्थानीय सरकारले ९.३७ प्रतिशत (१ हजार २० रुपियाँ) जम्मा गर्ने व्यवस्था छ ।

सरकार र श्रमिकको तर्फबाट मासिक २ हजार २ सय ४ रुपियाँको मासिक रूपमा गाउँपालिकाद्वारा कोषमा जम्मा गरिने भीमफेदी गाउँपालिकका अध्यक्ष हिदम लामाले बताउनु भयो । उहाँका अनुसार यो कोषमा आबद्ध भएका मजदुरले वार्षिक १ लाख रुपियाँ बराबरको उपचार खर्च, ७ लाख रुपियाँको दुर्घटना बिमा, सुत्केरी महिला श्रमिकले ९८ दिन बराबरको पारिश्रमिक र शिशु स्याहारको लागि नगद २५ हजार रुपियाँ पाउनेछन् भने दुर्घटना भई अशक्त भएको अवस्थामा नियमित पेन्सन पाउने व्यवस्था छ ।

गाउँपालिकाले यो योजनालाई सफल बनाउनलाई चालु आर्थिक वर्षमा १३ लाख रुपियाँ बजेट विनियोजन गरेको भीमफेदी गाउँपालिकका अध्यक्ष लामाले जानकारी दिनुभयो । अनौपचारिक क्षेत्रका श्रमिमको कारण विकासको हरेक क्षेत्रको काम नियमित हुने गरेको भन्दै अध्यक्ष लामाले उनीहरूको सामजिक सुरक्षा स्थानीय सरकारको पहिलो कर्तव्य भएको कारण आफूहरूले योजनाको सुरुवात गरेको दाबी गर्नुभयो ।

Photo_080-10-13_Makwanpur


पुष्पराज अधिकारी