गाउँपालिकाको प्रशासनिक भवन सार्न र गाउँपालिकाको नाम फेर्न सङ्घीय सरकारलाई सिफारिस

कोशी प्रदेश सरकार मन्त्रीपरिषदको बैठकले मोरङको कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन सार्नका लागि सङ्घीय सरकारलाई सिफारिस गरेको छ ।

प्रदेश सरकारको ०८० माघ २९ गतेको मन्त्रीपरिषद बैठकले गाउँपालिकाको भवन सार्न सङ्घीय सरकारलाई सिफारिसको निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री शमशेर राईले बताउनु भयो ।

प्रदेश सरकारले गाउँपालिकाको भवन हाल भइररहेकाे स्थान भन्दा कानेपाेखरी गाउँपालिका-५ भौंसाबारीमा सार्न सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री शमशेर राईले भन्नुभयो‘कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन हाल भइरहेको ठाउँबाट वडा नम्बर ५ मा सार्ने गाउँसभाको दुई तिहाई बहुमतले निर्णय गरेको र उक्त निर्णय कार्यान्वयन गराउन अदालतबाट समेत फैसला आएको हुँदा सोही अनुसार भौंसाबारीमा प्रमुख प्रशासकीय भवन सार्न सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय भएको छ,’।

प्रदेश मन्त्रीपरिषद्को बैठकले खोटाङ्गको बराह पोखरी गाउँपालिकाको नाम परिवर्तन गरेर बाराहापोखरी गाउँपालिका राख्न माग गर्दै उक्त गाउँपालिकाले गरेको सिफारिस गरेअनुसार सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।


विनोद सुवेदी