गाउँपालिकाको कार्यालयमा तालाबन्दी, सेवाग्राही मार्कामा

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बड्किेदार गाउँपालिकाको कार्यालयमा वैशाख ६ गतेदेखि अनिश्चितकालिन तालाबन्दी गरेपछि त्यस क्षेत्रका सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।

गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएपछि गाउँपालिकाबाट प्रवाह गरिने सेवा सुविधाहरु पउन स्थानीयहरुलाई सास्ती खेप्नु परेको बडिकेदार गाउँपालिका–४ का स्थानीय भक्तबहादुर साउदले गुनासो गर्नु भयो ।

उहाले सुदूरपश्चिम प्रदेश सरकारद्धारा आर्थिक वर्ष ०७९ / ०८० को बजेटमार्फत घोरेटो बाटो निर्माणका लागि गत वर्ष बजेट विनियोजित गरेको र उक्त योजनाको सम्झौता गर्न वैशाख ६ गते गाउँपालिका पुग्दा तालाबन्दीका कराण सम्झौता नगरी फर्किनु परेको बताउनु भयो ।

गाउँपालिकाको कार्यालयमा तालाबन्दी हुँदा नागरिकले अनावश्यक दुःख पाउनु परेको बडीकेदार गाउँपालिका–३ का स्थानीय ब्यापारी हेमन्त कलेलले गुनासो गर्नु भयो ।

उहाँले गाउँपालिकाबाट प्रवाह गरिदै आएका बिभिन्न योजनाहरुका सिफारिस, जन्म दर्ता, मृत्यु दर्ता, बसाइसराइ लगायतका सिफारिसका लागि गाउँपालिकाको कार्यालयमा आउने गरेका सेवाग्राहीहरु रित्तो हात फर्किनु परेको बताउनु भयो ।

गाउँपालिकाको कार्यालयमा जनप्रतिनिधिहरुद्धारा बिभिन्न योजनामा अनियमितता भएको, गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले कानुनको दुरपयोग गरी गाउँपालिकाको कार्यालयमा आफ्ना कार्याकर्तालाई कर्मचारीका रुपमा नियक्त गरेको र सामाजिक सुरक्षा भत्ता वितरणमा नागरिकलाई समस्या उत्पन्न गराएकोले गाउँपालिकामा तालाबन्दी गर्नु परेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता दिपेन्द्र जेठाराले बताउनु भयो ।

गाउँपालिकामा देखिएका समस्याहरु समाधान गर्न आफूहरुले पटकपटक माग गरेको भएपनि गाउँपालिकाले कुनै प्रकारको सुधार नगरेपछि बाध्य भएर तालाबन्दी गर्नु परेका जेठाराको भनाइ छ ।

बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरबबहादुर साउदले कामको सिलसिलामा आफू काठमाडौँमा रहेका कारण यस बिषयमा अनविज्ञ रहेको र के कति कारणले तालान्दी गरिएको हो ? कुनै जानकारी नभएको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘के कति कारणले तालाबन्दी गरिएको हो ? यस विषयमा गाउँपालिकाका उपाध्यक्षलाई बुझ्न र समस्या समाधान गर्न आग्रह गरेको छु ।’

गाउँपालिकामा लागाइको तालाबन्दीका बिषयमा छलफल गर्न विप्लव नेत्तृत्वको नकपा माओवादीका नेताहरुलाई  बैठकमा बोलाएको भएपनि गाउँपालिका अध्यक्ष नआउँदासम्म बैठकमा उपस्थित नहुँने नेताहरुको अडानका कारण समस्याको समाधान हुन नसकेको बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्मरी कलेलले बताउनु भयो ।

उहाँले समस्याको समाधानका लागि पहल भइरहेको समेत बताउनु भयो ।


गणेश जोशी