गाउँपालिकाले समयमा सामाजिक सुरक्षा भत्ता वितरण नगरेको लाभग्राहीको गुनासो

  ०७८ चैत २७ गते

बारागढी गाउँपालिकाले समयमा सामाजिक सुरक्षा भत्ता वितरण नगरेको लाभग्राहीहरूले इन्सेकका जिल्ला प्रतिनिधि भोलानाथ पौडेलसँग गुनासो गरेका छन् ।

नेपालको संविधान २०७२ को धारा ४१ मा ज्येष्ठ नागरिकको हक अन्तर्गत विषेश संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने व्यवस्था रहेको छ ।

नियमित रूपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्नेमा ६ महिना बितिसक्दा पनि गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छैन ।

गाउँपालिकाको कार्यालयले ढिलाइ गरेपछि लाभग्राहीले समस्यामा परेको भन्दै चैत २४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बारा जिल्ला प्रतिनिधि भोलानाथ पौडेललसँग गुनासो गरेका छन् ।

बारागढी गाँउपालिका–६ गढहलकी ७३ वर्षीया सितली कुम्हैनले ०७७ सालको अन्तिम चौमासिक र ०७८ सालको साउनदेखि असोजसम्मको सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गर्नु भएको छ ।

सोही ठाउँकी अरुलीदेवी पण्डित, ७४ वर्षीय जयलाल पण्डित र ७२ वर्षीय छठू पण्डितले सोही अवधिको सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गर्नु भएको छ ।

तीन/तीन महिनामा पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा पनि पाउन नकसेकाले इन्सेकसँग सहयोग माग्नु परेको बारागढी गाँउपालिका–६ गढहलका ३८ वर्षीय ठगा पण्डितले गुनासो गर्नु भयो ।

उहाँले भन्नुभयो–‘गत आर्थिक वर्षको ०७७ चैतदेखि ०७८ असारसम्म र चालु आर्थिक वर्षको ०७८ साउनदेखि असोजसम्मको अपाङ्गता भत्ता पाइएन । सात वर्षीय कान्छो छोरा विकास पण्डितका नाममा पाउनु पर्ने अपाङ्गता भत्ता पाइएन ।’

उहाँले बालक बिरामी भएकाले उपचार गर्न र शिक्षा निरन्तरताका लागि सामाजिक सुरक्षा भत्ता निकासा गर्न पहल गरिदिन अनुरोध गर्नुभएको छ ।

बारागढी गाउँपालिका–६ गढहलका ३५ वर्षीय प्रेमचन्द्र पण्डित पुर्ण अपाङ्गता भएपनि चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा पहिलो किस्ता बापत ६ हजार ४ सय मात्र प्राप्त गरेको र ६ महिनाको सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गर्नु भयो ।

नेपाल सरकारले तोके अनुसारको सामाजिक सुरक्षा भत्ताको रकम नपाएको र समयमा नपाएकाले समस्या भएको गुनासो गर्नुभएको छ ।

बारागढी गाउँपालिका–६ गढहलका ३८ वर्षीय जितेन्द्रप्रसाद पण्डितले पाँच वर्षीया छोरी रीमा कुमारीको अपाङ्गता भएको परिचय पत्र बनाउन ०७५ मङ्सिर २३ गतेदेखि धेरैपटक गाँउपालिकाको कार्यालयमा जाँदा गाउँपालिकाका अध्यक्ष देवदत्त बछाड र प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरीले असहयोग गरेको आरोप लगाउनु भयो ।

उहाँले अध्यक्ष र प्रशासकीय अधिकृतले अपाङ्गता भएको परिचय पत्र नबनाएर आफु अन्यायमा परेकाले पहल गरिदिनका लागि ०७८ चैत २४ गते इन्सेक बारा प्रतिनिधि भोलानाथ पौडेललाई निवेदन दिनुभएको छ ।

बारागढी गाँउपालिका–६ गढहलका ५७ वर्षीय रामेश्वर पण्डित बारागढी गाँउपालिकाको कार्यालयमा पुर्ण अपाङ्गता भएको परिचय पत्र लिन प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरीसँग अनुरोध गर्दा उहाँले नागरायणी अस्पतालका चिकित्सकको सिफारिस लिएर आएपछि परिचय पत्र दिन्छु भन्नु भएको बताउनु भयो ।

उहाँले चिकित्सकसँग पुर्ण अपाङ्गताको प्रमाणित पत्र लिएर ०७८ भदौ ३१ गते गाउँपालिकाको कार्यालयमा जाँदा पहेँलो कार्ड बनाएर दिएकाले अपाङ्गगता भएका कारण पाउने भत्ताबाट वञ्चित भएको गुनासो गर्नु भयो ।

बारागढी गाउँपालिकामा अन्य ज्येष्ठ नागरिक अन्य १ हजार, दलित ज्येष्ठ नागरिक १ हजार, एकल महिला ४ सय, एकल विधुवा महिला ३ सय, पुर्ण अपाङ्गता भएका ९०, आंशिक अपाङ्गगता भएका १ सय ५० र बालबालिका २ हजार २ सय गरी ५ हजार ४० जना नागकिरले सामाजिक सुरक्षा भत्ता पाउने गरेको बारागढी गाँउपालिकाको अभिलेखमा रहेको गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका सरोजकुमार साहले बताउनु भयो ।

उहाँले नागरिकका समस्या समाधान गर्न सामाजिक शाखामा खटिरहेकाले समस्याको समाधान गर्दै जाने बताउनु भयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरीले समस्या आएकाले समाधानको योजना बनाएको बताउनु भयो ।

उहाँले ०७९ वैशाख महिनामा गाउँपालिकाको कार्यालय, सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको बैङ्क र अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) बाराको संयुक्त टोली बनाएर घरघरमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बताउनु भयो ।


अनलाइन डेस्क