गस्तीमा खटिएका प्रहरी जवानको कुटाइबाट एक स्थानीय घाइते

  ०७५ माघ ३ गते

गल्कोट नपा–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई गस्तीमा रहेका प्रहरी जवान ३५ वर्षीय प्रेमसिंह विष्ट र प्रहरी जवान ३० वर्षीय बुद्ध थापाले कुटपिट गरी घाइते बनाएको पीडित पक्षको आरोप छ ।

पुस ३० गते प्रहरी चौकी हटियाबाट राति ९ बजेतिर गस्तीमा खटिएका प्रहरी जवानद्वयले कुटपिट गर्दा घाइते भएका सोमबहादुरको उपचार पोखरास्थित फेवासिटी अस्पतालमा भइरहेको पीडितको परिवारले जनाएको छ ।

कुटपिटबाट बस्नेतको पिसाव नली फुट्नुका साथै शरीरमा रगत धेरै जमेकाले निकालेर उनको अप्रेशन गरिएको पत्नी कृष्णकुमारी बस्नेतले जानकारी दिइन् ।

घटना पश्चात् स्थानीय र पीडितका परिवारको दबाबपछि प्रहरी जवानद्वयलाई माघ १ गते इलाका प्रहरी कार्यालय, हरिचौर झिकाइएको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ ।

गस्तीमा खटिएका प्रहरीले मादक पदार्थ सेवन गरे नगरेको सोधपुछ गर्दा पीडितले हातपात गर्न खोजेपछि सामान्य हानाहान भएको आरोपित प्रहरीले स्वीकार गरेको इलाका प्रहरी कार्यालय, हरिचौरका इन्स्पेक्टर केशवसिंह थापाले बताए ।

मादक पदार्थ सेवन गरेकै भएपनि नियम संगत कानुनी प्रक्रिया अगाडि बढाउनु पर्नेमा प्रहरीले निर्घात कुटपिट गर्नु गलत भएको भन्दै पीडित पक्षले दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।


सिर्जना पन्त