गर्मी र वर्षातमा क्षमता भन्दा बढी बन्दी व्यवस्थापनमा समस्या

गर्मी र वर्षातसँगै क्षमता भन्दा सात गुणा बढी कैदीबन्दी हुँदा सुर्खेत कारागारमा व्यवस्थापनमा कठिनाइ भएको कारागार प्रशासनले जनाएको छ । कुल २५ जनाको क्षमता रहेको कारागारमा क्षमता भन्दा सात गुणा भन्दा बढी १ सय ८६ जना कैदीबन्दीलाई एकै ठाउँमा कोचिएर बस्नुपर्दा व्यवस्थापनमा कठिनाइ भएको हो ।

हिँउदको समयमा जसोतसो कोचिएर खान, बस्न र सुत्न व्यवस्थापन गरिएपनि गर्मी र वर्षातसँगै अहिले कैदीबन्दी व्यवस्थापनमा कठिनाइ भएको सुर्खेत कारागारका जेलर लालबहादुर खत्रीले बताए । खत्रीका अनुसार अहिले सो कारागारमा तीन जना नाबालक, २० जना महिला र एक सय ६६ जना पुरुष कैदीबन्दी रहेका छन् ।

बढीमा ३० जना सुत्न मिल्ने कारागार भवन भित्रको कम्पाउण्डमा तीन ओटा त्रिपाल टाँगेर कैदी बन्दीलाई सुत्ने तथा खाने बस्ने व्यवस्थापन गरिएपनि हावा हुरीसँगै आउने वर्षातले ती त्रिपालबाट पानी चुहिने हुँदा कैदीबन्दी थप मर्कामा परेको जेलर खत्रीले गुनासो गरे । पछिल्लो समयमा लगातार परेको वर्षातका कारण चिसो भुँइमा सुत्न बाध्य हुनु परेको कैदी भीमबहादुर सारु मगरले बताए ।

गर्मी र वर्षातसँगै आलोपालो सुत्न बाध्य हुनुपरेको, पङ्खा, हावा पास हुने कोठा नहुँदा र एकै ठाँउमा कोचिएर बस्नुपर्दा ज्वरो, रुघाखोकी र झाडाबान्तालगायतका सरुवा रोगबाट ग्रसित हुनुपरेको, खानेपानीको अभाव रहेको, समयमा खाना खानबाट वञ्चित हुनुपरेको कैदी सारु मगरले गुनासो गरे । कारागार व्यवस्थापन सुधारको लागि आफूहरूले पटकपटक आन्दोलन गर्दै आएपनि हालसम्म सुनुवाइ नभएको कैदी सारुमगरको भनाइ छ ।

बन्दी मनीसरा बिकले चारजना सुत्न मिल्ने कोठामा तीनजना नाबालक र २० जना महिला कैदीबन्दी एकै ठाँउमा कोचिएर बस्न बाध्य हुनुपर्दा आलोपालो खाना खानु र सुत्नुको विकल्प नभएको बताइन् । दिउँसो तथा रातिको समयमा आलोपालो सुत्नुपर्दा र खुट्टा खुम्च्याउने ठाँउसमेत नहुँदा कष्टकर दिन काट्नु परेको मनीसराले गुनासो गरिन् ।

यसैबिच ०६६ देखि सुरु भएको सुविधा सम्पन्न सुधार गृहको निर्माण कार्य ०७० देखि पुर्णरूपमा बन्द रहेपनि यस विषयमा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । चार वर्षमा सम्पन्न गर्नेगरी २ करोड ३६ लाख ९८ हजार रुपियाँमा ठेक्का सम्झौता गरेको जिएम कन्ट्रक्सनले निमार्ण कार्य सम्पन्न नगरी 'फरार' रहेपछि सो कम्पनीको खोजी गर्नेतर्फजिल्ला प्रशासन र भवन निमार्णको जिम्मा लिएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सुर्खेतको ध्यान पुगेको छैन ।

यस विषयमा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सुर्खेतका प्रमुख खम्बराज श्रेष्ठले जिएम कन्ट्रक्सनलाई कारागार भवन निर्माण सम्पन्न गर्न पटकपटक ताकेता गरेपनि सो कन्ट्रक्सन सम्पर्कमा नआएको बताए ।


दुर्गा थापा