गर्भपतन घटनाका आरोपित गिरफ्तार

  ०८० असोज १ गते

राजविराज नगरपालिका–२ राजदेबी टोलस्थित माइत बसेकी २० वर्षीया साबिया प्रविणको गर्भपतन घटनाका आरेपित उनकी २३ वर्षीया भाउजु ममदा भनिने पलिया खातुनलाई प्रहरीले भदौ २९ गते गिरफ्तार गरेको छ ।

गर्भवती भएपश्चात आराम गर्न माइत आएकी १७ हप्ताको गर्भ बोकेकी साबियालाई ०७९ फागुन २१ गते उनकी भाउजु पलिया खातुनले कुटपिट गरी भुईमा लडाउँदा गर्भपतन भएको पीडितले बताउनु भयो ।

आरोपितविरुद्ध उजुरी दर्ता भएपनि जिल्ला प्रहरी कार्यालयमा आवतजावत गरिरहेकी उनलाई पीडित पक्षले गिरफ्तार गर्न बारम्बार आग्रह गरेपछि जिल्ला प्रहरी कार्यालयबाटै गिरफ्तार गरिएको साबियाका बुबा अकबर अलीले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयले गर्भपतनको उजुरी दर्ता नगर्दा पीडितले चैत १२ गते जिल्ला सरकारी वकिल कार्यालय र ०८० वैशाख ७ गते जिल्ला हुलाक कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयलाई रजिष्ट्री पत्र पठाएको थियो । त्यसपछि पीडितले उच्च अदालत जनकपुर राजविराज इजलास समक्ष परमादेशका लागि निवेदन दिनु भएको थियो । उच्च अदालत जनकपुर राजविराज इजलासले जेठ २६ गते गरेको परमादेश असार २९ गते प्रमाणिकरण भएपछि अदालतले साउन ७ गते प्रमाणित प्रतिलिपी सहितको जानकारी पत्र जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो ।

प्रहरीले उजुरी सनाखतका लागि पीडित पक्षलाई नबोलाएपछि साउन १५ गते जाहेरवाला अकबर स्वयम् जिल्ला प्रहरी कार्यालय पुगेर उजुरी दर्ता गरेर कारबाही अगाडि बढाउन आग्रह गरेका थिए । जिल्ला प्रहरी कार्यालयले साउन १६ गते उजुरी दर्ता गरेको थियो ।


मनोहरकुमार पोखरेल