गर्भपतन गरेको कसुरमा १ वर्ष ६ महिना कैदको फैसला

  ०७८ चैत २४ गते

महादेवा गाउँपालिका–४ डाढा बलिया टोलकी २४ वर्षीया पुनितादेवी यादवलाई कुटपिट गरी गर्भपतन गरेको कसुरमा जिल्ला अदालतले सोही ठाउँका ५८ वर्षीय डोमा भनिने लक्ष्मण राउत बरैलाई चैत २३ गते १ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश इश्वरमणी ओझाको इजलासले बरैलाई यस्तो फैसला सुनाएको हो भने अन्य आरोपितहरूले सफाइ पाएका छन् ।

आरोपित बरैसहित २७ वर्षीय छोरा श्याम राउत बरै, सोही ठाउँका ६५ वर्षीय रामजी साह र साहका ४० वर्षीय छोरा सुरेन्द्र साहले ०७७ फागुन ६ गते दिउँसो कुटपिट गरी गर्भपतन गराएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरूप, सप्तरीमा फागुन ९ गते उजुरी दिनुभएको थियो ।

आफ्नो खेतमा बालीनाली हेर्न गएका बेला आरोपितहरूले गहँुबारीमा घाँस काट्ने बहानामा आफ्नो खेतको गँहु काटिरहेको देखी निजहरूलाई रोक्न खोज्दा लात्ति र मुक्काले कुटपिट गरी घाइते बनाएको पीडितको आरोप थियो ।

सोही समयदेखि पेट दुखेर फागुन ११ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकोमा फागुन १२ गते पेटमा रहेको १६ हप्ताको गर्भपतन भएको पीडितले बताउनु भयो ।

प्रहरीले ०७७ फागुन १४ गते उजुरी दर्ता गरी सोही दिन आरोपितहरू लक्ष्मण, श्याम र रामजीलाई गिरफ्तार गरेको थियो ।

जिल्ला अदालतमा फागुन २३ गते अभियोगपत्र दायर भएकोमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको फागुन २५ गतेको इजलासले आरोपित लक्ष्मण, श्याम र रामजीलाई जनही ३० हजार धरौटी राखी पुर्पक्षका लागि रिहा गरेको थियो ।

जिल्ला अदालतमा चैत १० गते हाजिर भएका सुरेन्द्र समेत सोही दिन ३० हजार धरौटी राखी पुर्पक्षका लागि रिहा भएका थिए ।


मनोहरकुमार पोखरेल