गर्भपतन गराउँनेको सङ्ख्या बढ्दै, महिलाको स्वास्थ्यमा प्रतिकूल असर

स्वास्थ्य कार्यालय बागलुङको तथ्याङ्क अनुसार जिल्लामा गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गइरहेको छ जसले गर्दा महिलाको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ ।

‘गर्भपतन विकल्प होइन्, बाध्यता हो’ । यो भनाइ स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य प्रशासक बाबुराम आचार्यको हो । बाध्यात्मक परिस्थिति बाहेक गर्भपतन गर्नु पर्ने अवस्था आउनै दिन नहुने आचार्यको भनाइ छ ।

तर, स्वास्थ्य कार्यालयको तथ्याङ्क हेर्दा गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दो छ । बागलुङ जिल्लाका धौलागिरी अस्पताल, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र गलकोट नगरपालिकासँगै २७ ओटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतनको सेवा लिन पाइन्छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म बागलुङका ७ सय ९८ जना महिलाले गर्भपतन गराएका छन् । जसमध्ये २० वर्ष भन्दा कम उमेर समूहका २४ जना रहेको स्वास्थ्य कार्यालय बागलुङको तथ्याङ्कमा उल्लेख छ । २० वर्ष भन्दा तलका २४ मध्ये चार जनाको सर्जिकल माध्यमबाट र २० जनालाई औषधी खुवाएर सुरक्षित गर्भपतन गराइएको छ ।

यो वर्ष १२ हप्ताभन्दा माथिको गर्भपतन गराउनेको सङ्ख्या अत्याधिक वृद्धि भएको छ । गत आर्थिक वर्षमा २० वर्ष माथिका एक जना महिलाको १२ हप्ता माथिको गर्भ औषधी सेवन गरेर पतन गरिएको थियो । तर चालु आर्थिक वर्षमा २० वर्ष माथिका १८ र २० वर्ष तलका दुई जना महिलाले १२ हप्ता भन्दा माथिको गर्भ औषधी प्रयोग गरेर पतन गरिसकेका छन् । २० वर्ष तलका चार जना महिलाको १८ हप्ता भन्दा माथिको गर्भ उपकरण प्रयोग गरेर पतन गराइएको छ ।

सरकारले गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गराउन सक्ने र स्वास्थ्यकर्मीको परामर्शमा बच्चा जन्माउदा महिलाको ज्यान खतरामा पर्न सक्ने, विकलाङ्ग, बलात्कार, हाडनातामा बलात्कार, निको नहुने प्रकृतिका रोग लागेको भएमा महिलाकै मञ्जुरीमा २८ हप्तासम्मको गर्भ सुरक्षित रुपमा पतन गराउन मिल्ने कानुनी व्यवस्था ल्याएपछि सङ्ख्यामा वृद्धि भएको हो ।

यो वर्ष २० वर्ष भन्दा तलका २९ र माथिका ६ सय ७८ जना महिलाको १२ हप्तासम्मको गर्भ स्वास्थ्य संस्थामा औषधी सेवन गरेर र चार जना २० वर्ष तलका र ६३ जना २० वर्ष माथिका महिलाको १२ हप्तासम्मको गर्भ उपकरणको प्रयोग गरेर स्वास्थ्य संस्थामा पतन गराइएको छ । यो सङ्ख्या बागलुङका महिलाको मात्र होइन्, गर्भपतन गराउन अहिले पनि टाढाको स्वास्थ्य संस्था रोज्नेहरुको सङ्ख्या उल्लेख्य छ । परिवारकै सहमतिमा हुने अधिकांश गर्भपतन पनि जिल्ला बाहिरका स्वास्थ्य संस्था रोज्ने गरेको कार्यालय प्रमुख आचार्यले बताउनु भयो ।

परिवार नियोजनका साधनको प्रयोग नगर्दा र सावधानी नअपनाउदा र स्वास्थ्य कार्यालयले गाउँ गाउँमै सुरक्षित गर्भपतनको सेवा विस्तार गरेको हुँदा पनि यो सङ्ख्यामा वृद्धि भएको हुनसक्ने उहाँले बताउनु भयो ।

गत आर्थिक वर्षमा १२ हप्ता भन्दा कमको सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या १ हजार ८४ रहेको छ । ७९ जना २० वर्ष तलका र ९ सय ४२ जना २० वर्ष माथिका महिलाले औषधी सेवन गरी गर्भपतन गराएका थिए, भने २० वर्ष माथिका ६२ र तलका एक जना महिलाको उपकररण प्रयोग गरेर गर्भपतन गराइएको थियो ।

यो स्वास्थ्य संस्थामा अभिलेख भएको तथ्याङ्क मात्र हो । गाउँ घरमा र सरकारले मान्यता नदिएका क्लिनिकहरुबाट गर्भपतन गराउने महिलाको सङ्ख्या पनि ठुलो हुन सक्ने आचार्यको भनाइ छ ।

स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन गराउँदा गराउँदै पनि कहिलेकाँही गर्भवती महिलाको स्वास्थ्यमा समस्या आउन सक्छ । गत आर्थिक वर्षमा औषधी खुवाएर सुरक्षित गर्भपतन गराएका २१ र उपकरणको माध्यमबाट गर्भपतन गराएका चार जना महिलामा जटिल समस्या देखिएको थियो । यो वर्षपनि नौ जना औषधी सेवनबाट गर्भपतन गराएका र एक जना उपकरणको प्रयोगबाट गर्भपतन गराएका महिलामा जटिलता देखिएको छ ।

गर्भपतन गराएपछि धेरै रत्तश्राव हुने, दुखाई धेरै हुने, प्रजनन अंगहरुमा समस्या आउने र दोस्रो गर्भ रहन समय लाग्ने जस्ता समस्याहरु देखिएको कार्यालय प्रमुख आचार्यले बताउनु भयो ।

‘गर्भ रहनै नदिने अनेकन उपाए हुँदाहुँदै पनि सयाैँ महिलाहरु गर्भपतनका लागि स्वास्थ्य संस्था आउनु हुन्छ,’ आचार्यले भन्नुभयो ‘गर्भपतन विकल्प होइन्, बाध्यता हो भनेर बुझाउन गाह्राे भएको छ ।

‘अति जोखिमको अवस्थामा बाहेक गर्भपतन गर्नु हुँदैन्, गर्भपतन गराउदा महिलाको स्वास्थ्यमा प्रतिकूल असर पर्छ’ आचार्यले भन्नुभयो ‘आज भोली गर्भपतनलाई पनि सामान्य रुपमा लिएको जस्तो लाग्छ, पटक पटकको गर्भपतनले महिलाको ज्याननै जोखिममा पार्छ ।’


सिर्जना पन्त