गरिबीको कारण पढाइ छाडेर ज्याला मजदुरीमा लाग्दै छन् टेकानपुरका बालबालिका

जिल्ला सदरमुकाम मन्थली नजिकै रहेको मन्थली नगरपालिका-२, टेकानपुरको दलित बस्तीका बालबालिका गरिबीको कारण पढाइ छाडेर दैनिक ज्याला मजदुरी गर्दै छन् ।

गरिबीको कारण झण्डै ९० घर सार्की समुदायका दलित परिवारलाई रातदिन ज्याला मजदुरीको लागि दौडनु पर्ने बाध्यता छ । ज्याला मजदुरीको लागि जिल्ला सदरमुकाम मन्थलीदेखि काठमाडौँ र भारतसम्म पुग्नु पर्ने बाध्यता स्थानीयको रहेको सो बस्तीका मानबहादुर सार्की बताउनुहुन्छ । मन्थलीमा मात्रै दैनिक सो बस्तीबाट ७० जना बढी मजदुरीको काम खोज्न र गर्न धाउने उहाँको भनाइ छ ।

साना बालबालिकालाई घरमा नै छाडेर बिहान सबेरै निस्किने स्थानीय साँझ अबेर मात्र घर पुग्छन् । ‘मजदुरीको लागि महिला हुन् वा पुरुष काम गर्न सक्ने उमेरका सबै निस्कन्छन्, घरमा काम गर्न नसक्ने बुढाबुढी र बालबालिकाहरू मात्रै बस्ने हुन्’, मानबहादुरले भन्नुभयो ।

दिनभरी काम गरेर साँझ ढिलो घर पुग्ने बुबा आमाले आगो फुकेपछि बल्ल बालबालिका रमाउँछन् । खान पाउने खुसीले उनीहरूको मन आनन्दित हुन्छ । दिनभरी काम गरेर पाएको ज्यालाले खरिद गरी ल्याएको खाने कुरा पकाउँछन् र परिवार रमाउँछन् । ‘साँझ खायो, भोलिपल्ट कहाँ काम पाइएला र साँझको छाक टारौँला भन्ने चिन्ता हुन्छ’, उहाँले भन्नुभयो ।

सदरमुकामसँगै जोडिएको भए पनि सो बस्तीबाट हालसम्म स्नातक गर्ने एक जना मात्रै छन् । अन्य केहीले १२ कक्षासम्म पढेका भए पनि काम भने ज्याला मजदुरीकै गर्न बाध्य छन् । बाँकी सात/आठ कक्षा पढेपछि पढाई छाडेर ज्याला मजदुरीकै काममा लागेका स्थानीय वीरबहादुर सार्की बताउनुहुन्छ । ‘पढेकाले पनि रोजगारी पाउँदैन, त्यसैले काम गर्न सक्ने भएपछि पढाइ छाडेर मजदुरीमा नै लाग्छन्, घरमा खाने कुरै नभएपछि के गरी पढ्नु, काम गर्न सक्ने भएपछि कमाउन जान्छन्, आफ्नो पेट पाल्छन्’, उहाँले भन्नुभयो ।

टेकानपुरका यी दलित समुदायको जग्गा जमिन अति कम छ । भएको जग्गा जमिनमा पनि समयमा पानी पर्न छाडेकोले उब्जनी हुँदैन । ‘त्यही एक बाली मकै हो, त्यो पनि पानी परेन भने हुँदैन, हात नबजारी भात खान पाइँदैन’, स्थानीय मकरबहादुर सार्कीले भन्नुभयो ।

ज्याला मजदुरी गरेको पैसा जोगाउन सकेका छैनन् । त्यसैले ठुलो बिरामी पर्‍यो वा कुनै कार्य गर्नु पर्‍यो भने ऋण काढ्नुको विकल्प उनीहरूसँग छैन । सदरमुकाम नजिकै छ । सदरमुकाममा प्रशस्तै सहकारी संस्था छन् । यहाँका बासिन्दाले कुनै न कुनै सहकारीमा खाता खोलेका छन् । त्यो बचत गर्न होइन ऋण खान ।

अधिकांशले सहकारीबाट ऋण निकालेका छन् । जग्गा धितो राखेर निकालेको ऋणको ब्याज थपिँदो छ, तर ऋण तिर्न सकेका छैनन् । ऋण कसरी चुक्ता गर्ने कुनै उपाय छैन । दलित बस्तीमा दुःख माथि दुःख थपिँदै छ, ऋण माथि ऋणमा डुब्दै छन् ।


नवराज घिमिरे