गरिबीका कारण २ सय ५० जना दलित बालबालिका विद्यालय बाहिर

भौगोलिक विकटता, गरिबी र विद्यार्थी भर्ना अभियान प्रभावकारी नहुँदा लमजुङका २ सय ५० जना दलित बालबालिका विद्यालय बाहिर रहेको शिक्षा विकास तथा समन्वय इकाइको तथ्याङ्कले जनाएको छ ।

सरकारले वैशाख महिनाभर विद्यालय भर्ना अभियान चलाएपनि २ सय ५० जना दलित बालबालिका र २ सय २५ अन्य समुदायको बालबालिका गरी ४ सय ७५ जना विद्यालय जाने उमेरका बालबालिका विद्यालय बाहिर रहेको शिक्षा विकास तथा समन्वय इकाईको प्रमुख गोपालप्रसाद कँडेलले बताए ।

कँडेलका अनुसार भर्ना गर्ने उमेर समूहका ३२ हजार ८ सय ७४ बालबालिकामध्ये ३२ हजार ३ सय ९९ जना बालबालिका यो वर्षभर्ना भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाईका उपसचिव श्रीप्रसाद भट्टराईले भौगोलिक विकटताको कारणले पनि बालबालिका समयमै भर्ना हुन नपाउने बाध्यता जिल्लामा रहेको बताए ।


दलबहादुर मजाकोटी