गत वर्ष छाउगोठ मुक्त घोषित गाउँको छाउपडी गोठमा एक बालिकाको मृत्यु

  ०७३ पुस ३ गते

छाउगोठमुक्त घोषित गाज्रा गाविस-७ की १५ वर्षीया रोशनी तिरुवाको छाउगोठमै मृत अवस्थामा फेला परेकी छन् । पुस २ गते साँझ ६ बजेतिर खाना खाएर छाउगोठमा सुत्न गएकी रोशनी पुस ३ गते बिहान ७ बजेसम्म नफर्किएपछि उनका बावुले ढोका फोरेर हेर्न जाँदा मृत अवस्थामा फेला पारेको बताएका छन् ।

झ्याल नभएको र भित्र आगो बालेको कारण निस्सासिएर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयअछामका इन्स्पेक्टर बद्रिप्रसाद ढकालले जानकारी दिए ।

इन्स्पेक्टर ढकालका अनुसार मृतकको शरीरमा कुनै चोटपटक नलागेको समेत उनको भनाइ छ । मृतक रोशनीको शव पोष्टमार्टमका लागि सदरमुकाम मङ्गलसेन ल्याउने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

मङ्सिर ४ गते राति तिमिल्सेन गाविसकी २६ वर्षीय डम्बरा उपाध्यायको छाउगोठमै मृत्यु भएको थियो । सन् २००७ देखि हालसम्म अछाम जिल्लामा नौ जना महिलाको छाउपडी गोठमै ज्यान गइसकेको छ ।

घरबाट टाढा, साँघुरो, हावा नछिर्ने कटेरोमा कष्टपूर्ण बसाइले महिलाहरूको ज्यान गइरहेको छ । अछाम जिल्लामा सरकारी तथा गैरसरकारी संस्थाले छाउपडी कूप्रथाका विरुद्धका अभियान सञ्चालन गरिरहेको भएपनि त्यसले अझै सकारात्मक नतिजा दिन सकिरहेको छैन ।

गाज्रा गाविस ०७२ सालमा छाउगोठमुक्त घोषणा गरिएको थियो । अछाममा हाल नगरपालिकामा गाभिएका सहित ३२ गाविस र गाविसका केही वार्डहरू छाउपडी गोठमुक्त घोषणा गरिसकिएको छ ।


शिवराज ढुङ्गाना