गण्डकी प्रदेशमा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता शान्तिपुर्ण

  ०७९ वैशाख ११ गते

स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवारको मनोनयन दर्ता कार्यक्रमको पहिलो दिन गण्डकी प्रदेश मातहतका जिल्लाहरुमा मनोनयन दर्ता शान्तिपुर्ण रुपमा गरिएको इन्सेक जिल्ला प्रतिनिधिहरुले जानकारी दिएका छन् ।

गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार उम्मेदवारी दर्ताको पहिलो दिन जिल्लामा स्वतन्त्र र साना दलले उम्मेदवारी दर्ता गराएका छन् । गोरखा नगरपालिकामा दुई प्रमुख र एक उपप्रमुख सहित १० जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै पालुङटार नगरपालिकामा दुई वडा अध्यक्ष पदका लागि मात्र दुई जनाको उम्मेदवारी परेको छ । सिरानचोक गाउँपालिकामा अध्यक्ष सहित, वडा सदस्य र वडा अध्यक्ष गरी १९ जनाले उम्मेदवारी दिएका छन् भने धार्चे गाउपालिकामा सात जनाको उम्मेदवारी परेको छ । चुम्रनुवी गाउँपालिकामा दुई जना वडासदस्य, गण्डकी गाउँपालिकामा पालिका अध्यक्ष सहित सात जना, बारपाक सुलिकोटमा १५ जना, शहिद लखन, आरुघाट र भिमसेन थापामा १÷१ जनाले निर्वाचन अधिकृतको कार्यलय पुगेर उम्मेदवारी दर्ता गराएका छन् भने अजिरकोट गाउँपालिकामा पा“च जनाको उम्मेदवारी परेको छ । वैशाख ११ गते कुल ७० जनाले उम्मेदवारी दर्ता गरेका छन् । ठुला दलले भने वैशाख १२ गते मात्र उम्मेदवारी दर्ताको तयारी गरेका छन् ।

कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार कास्कीका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईका अनुसार उम्मेदवारी दर्ताको पहिलो दिन स्वतन्त्रबाट पोखरा महानगरपालिकाको मेयरमा गनेस पौडेल, विमलबहादुर कार्की, रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बास्तोला र किशानसिंह गुरूङ गरी ६ जनाले उम्मेदवारी दिएका छन् ।  यस्तै राजनीतिक दलबाट मौलिक जराकिलो पार्टीबाट संजय तिमिल्सिना, सचेत नेपाली पार्टीबाट भोजराज खनाल, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमप्रसाद गुरुङ र नेपाल जनता दलबाट मुक्तिनाथ सुवेदी गरी चार जनाले मेयरमा उम्मेदवारी दिएका छन ्।  उपमेयरमा दुई जनाले उम्मेदवारी दिएका छन् । सत्तारुढ पाँच दलीय गठबन्धन र विपक्षी नेकपा एमालेका उम्मेदवारले भने बैशाख १२ गते मनोनयन दर्ता गर्ने जनाएका छन्  ।

यसैगरी अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशले निर्वाचन कार्यालय कास्कीमा निर्वाचन अनुगमन गरेको छ । इन्सेक गण्डकी संयोजक शिवप्रसाद खकुरेलसहितको टोलीले उम्मेदवारी दर्ताको तयारी र अवस्थाको बारेमा निर्वाचन कार्यलय पुगेर अनुगमन गरेको थियो । संयोजक खकुरेलले निर्वाचन अधिकृतलाई भेट गरी निर्वाचन आचारसंहिता पालनालाई ध्यान दिन आग्रह गरिएको बताउनुभयो । निर्वाचनलाई स्वच्छ र निश्पक्ष बनाउन निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पालना गराउन आफूहरु प्रतिबद्ध रहेको मुख्य निर्वाचन अधिकृत भट्टराईले बताउनुभयो ।

बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार उम्मेदवारी दर्ताको पहिलो दिन १० स्थानीय तह मध्ये ६ वटा स्थानीय तहमा राष्ट्रिय प्रजातन्त्र पार्टी र केही स्वतन्त्र उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका छन् । नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) सँगै अन्य राजनीतिक दलले मनोनयन दर्ताको लागि फारम लगेपनि निर्वाचन अधिकृतको कार्यालयले तोकेको साँझ ५ बजेसम्म राजनीतिक दल र स्वतन्त्र कसैलेपनि उम्मेदवारी दर्ता नगराएको बरेङ गाउँपालिकाका निर्वाचन अधिकृत मनिराम ज्ञवालीले जानकारी दिनुभयो । बागलुङ नगरपालिकाको उपमेयर पदमा एक जनाको मात्रै उम्मेदवारी परेको छ । त्यसैगरी ढोरपाटन नगरपालिकामा पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । जैमिनी नगरपालिकामा पाँच जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृत सुर्यप्रसाद भण्डारीले बताउनुभयो । काठेखोला गाउँपालिकामा एक जनाले उम्मेदवारी दिएका छन् । बडिगाड गाउँपालिकामा पाँचजनाको मात्रै उम्मेदवारी दर्ता भएको छ भने निसीखोला गाउँपालिकामा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ गठबन्धनले वैशाख ११ गते साँझ सम्मपनि भागबन्डा मिलाउन नसक्दा उम्मेदवारको अझै टुङ्गो लागेको छैन ।

नवलपरासी (वर्दाघाट सुस्ता पूर्व ) प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार नवलपुरमा पहिलो दिन स्थानीय तह निर्वाचनको मनोनयन न्यून रहेको छ । आठ ओटा स्थानीय तह रहेको जिल्लाको कावासोती नगरपालिकामा वैशाख ११ गते तीन जना नगरपालिका प्रमुख, दुई जना उपप्रमुख सहित विभिन्न पदमा कुल ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।  मध्यविन्दु नगरपालिकामा नगर प्रमुखमा एक जना सहित विभिन्न पदमा कुल चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । देवचुली नगरपालिकामा दुई जना नगर प्रमुख सहित कुल १७  जनाले उम्मेदवारी दर्ता गराएका छन् । गैंडोकाट नगरपालिकामा एक जना नगर प्रमुख, दुई जना नगर उपप्रमुख सहित विभिन्न पदमा कुल २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । हुप्सेकोट गाउँपालिकामा मनोनयन दर्ताको कार्य जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ  । विनयी त्रिवेणी गाउँपालिकामा अध्यक्षमा एक जना सहित विभिन्न पदमा कुल २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बुलिङ्टार र बौदिकाली गाउँपालिकामा भने वैशाख ११ गते कसैको पनि उम्मेदवारी दर्ता नभएको गाउँपालिकाका निर्वाचन अधिकृतहरुले बताएका छन् ।

पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार उम्मेदवारी दर्ताको पहिलो दिन १८ जनाले मात्र उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये कुश्मा नगरपालिकामा चार जना, फलेवास नगरपालिकामा आठ जना, मोदी गाउपालिकामा एक जना र जलजला गाउँपालिकामा पाँच जना उम्मेदवार रहेका छन् । बिहादी, महाशिला र पैञ्यु गाउँपालिकामा आज कसैको उम्मेदवारी दर्ता भएको छैन ।

म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार उम्मेदवारी दर्ताको पहिलो दिन ९१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये बेनी नगरपालिकामा दुई जना, रघुगंगा गाउँपालिकामा ५९ जना, अन्नपुर्ण गाउँपालिकामा २७ जना र धौलागिरी गाउँपालिकामा तीन जना उम्मेदवार रहेका छन् । मङगला गाउँपालिकामा आज कसैको उम्मेदवारी दर्ता भएको छैन ।

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भटटराईका अनुसार तनहुँको व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा स्वतन्त्र र केही साना राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गरेका छन् । व्यास नगरपालिकामा मेयर, उपमेयर र वडा अध्यक्ष तथा सदस्यहरु गरि २२ जनाले र शुक्लागन्डकीमा दुई मेयर, दुई वडा अध्यक्ष र दुई वडा सदस्यले उम्मेदवारी दर्ता गरेका छन् । पहिलो दिन जनता समाजबादी पार्टी, राप्रपा, विवेककशिल साझा र मंगोल नेशनल अर्गनाइजेसनले व्यास नपामा उम्मेदवारी दर्ता गरेको छ । प्रमुख राजनीतिक दलहरुले बैशाख १२ गते मा उम्मेदवारी मनोनयन गर्ने समय लिएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले बताउनु भयो ।

लमजुङ प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार बेसीशहर नगरपालिकाका लागि प्रमुख तथा उपप्रमुख लगायतका पदमा साना दलहरुद्वारा मनोनयन दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार बेशीसहर नगरपालिकाको विभिन्न वडामा ६ जनाले मात्र उम्मेदवारी दर्ता गरेका छन् भनेदलले आज मनोनयनको पहिलो दिन मनोनयन दर्ता गरेका छैनन ।


इन्सेक, गण्डकी प्रदेश कार्यालय