गण्डकी प्रदेशमा स्थानीय तह निर्वाचनका लागि १३ हजार ७० जनाको उम्मेदवारी दर्ता

  ०७९ वैशाख १३ गते

एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका रहेको यस प्रदेशमा कुल १६ लाख ६२ हजार २ सय ४६ जना मतदाता रहेका छन् ।

वैशाख ३० गते हुने स्थानीय तह निवार्चन २०७९ को लागि गण्डकी प्रदेशमा विभिन्न पदका लागि १३ हजार ७० जनाले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गराएको इन्सेक जिल्ला प्रतिनिधिहरुले जानकारी दिएका छन् ।

बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि बागलुङमा १ हजार २ सय ८ जनाको मनोनयन दर्ता भएको छ । १० स्थानीय तहका प्रमुख तथा अध्यक्ष पदमा ५५, उपप्रमुख तथा उपाध्यक्षमा ४२ जना, ८५ वटा वडाको वडा अध्यक्षको लागि २ सय ७२ जना, सदस्यमा ४ सय ३९ जना, महिला सदस्यमा २ सय ८  र दलित महिला सदस्यमा १ सय ९२ जनाको उम्मेदवारी दर्ता भएको छ ।  बागलुङ नगरपालिकामा नौ प्रमुख, ६ उपप्रमुख, ४२ वडा अध्यक्ष, ६६ सदस्य, ३५ महिला सदस्य र ३० जना दलितमहिला सदस्यको मनोनयन दर्ता भएको छ । बरेङ गाउँपालिकामा तीन अध्यक्ष, पाँच उपाध्यक्ष, १३ वडा अध्यक्ष, २२ सदस्य, १२ महिला सदस्य र १२ दलित महिला सदस्यको मनोनयन दर्ता भएको छ । काठेखोला गाउँपालिकामा तीन अध्यक्ष, .चार उपाध्यक्ष, २१ वडा अध्यक्ष, ३६ सदस्य, १८ महिला सदस्य र १८ दलित महिला सदस्यको मनोनयन दर्ता भएको छ । गलकोट नगरपालिकामा ६ प्रमुख, तीन उपप्रमुख, २८ वडा अध्यक्ष, ५१ सदस्य, २३ महिला सदस्य र २२ दलित महिला सदस्यको मनोनयन दर्ता भएको छ । जैमिनी नगरपालिकामा ६ प्रमुख, पाँच उपप्रमुख, ३८ वडा अध्यक्ष, ५४ सदस्य, २१ महिला सदस्य र २२ दलित महिला सदस्यको मनोनयन दर्ता भएको छ । बडिगाड गाउँपालिकामा पाँच अध्यक्ष, चार उपाध्यक्ष, २८ वडा अध्यक्ष, ४५ सदस्य, २१ महिला सदस्य र २१ दलित महिला सदस्यको उम्मेदवारी दर्ता भएको छ । ढोरपाटन नगरपालिकामा १० प्रमुख, पाँच उपप्रमुख, ३९ वडा अध्यक्ष, ६५ सदस्य, २८ महिला सदस्य र २३ दलित महिला सदस्यको मनोनयनदर्ता भएको छ । ताराखोला गाउँपालिकामा चार अध्यक्ष, दुई उपाध्यक्ष, १५ वडा अध्यक्ष, २८ सदस्य, १२ महिला सदस्य, ११ दलित महिला सदस्यको उम्मेदवरी दर्ता भएको छ । तमान खोला गाउँपालिकामा पाँच अध्यक्ष, चार उपाध्यक्ष, १७ वडा अध्यक्ष, ३१ वडा सदस्य, १९ महिला सदस्य र १४ दलित महिला सदस्यको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै निसीखोला गाउँपालिकामा चार अध्यक्ष, चार उपाध्यक्ष, ३१ वडा अध्यक्ष, ४१ सदस्य, १९ महिला सदस्य र २२ दलित महिला सदस्यको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचनअधिकृत बासुदेव न्यौपानेले बताउनुभयो ।

पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार  सात ओटा स्थानीय तहमा गरेर ३ सय १९ जनप्रतिनिधि छनौट गर्नुपर्नेमा ९ सय ५७ जनाको मनोनयन दर्ता भएको छ । जसमध्ये प्रमुखको पदका लागि १८ जना, २९ अध्यक्ष, १२ उपप्रमुख, १६ उपाध्यक्ष, २ सय १४ वडा अध्यक्ष, ३ सय ६८ वडा सदस्य, १ सय ५३ महिला सदस्य र १ सय ४७ दलित महिला सदस्यको उम्मेदवारी दर्ता भएको छ ।

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भटटराईका अनुसार १० ओटा स्थानीय तह रहेको जिल्लामा स्थानीय निवार्चन २०७९ को लागि १ हजार ७ सय २७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये ३४ प्रमुख, ३७ अध्यक्ष, २२ उपप्रमुख, ३३ उपाध्यक्ष, ४ सय ५ वडा अध्यक्ष, ६ सय २९ वडा सदस्य, २ सय ९३ महिला सदस्य र २ सय ७४ दलित महिला सदस्यको उम्मेदवारी दर्ता भएको छ ।

म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार ६ ओटा स्थानीय तह रहेको जिल्लामा स्थानीय निवार्चन २०७९ को लागि ७ सय ५९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये ३२ जनाले प्रमुख र अध्यक्ष, २८ जना उपप्रमुख र उपाध्यक्ष, १ सय ६० वडा अध्यक्ष, २ सय ८० सदस्य, १ सय २९ महिला सदस्य र १ सय ३० दलित महिला सदस्यको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै पाँच ओटा स्थानीय तह रहेको मुस्ताङ जिल्लामा स्थानीय निवार्चन २०७९ को लागि २ सय २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये १० जनाले प्रमुख र अध्यक्ष, ११ जना उपप्रमुख र उपाध्यक्ष, ४५ वडा अध्यक्ष, ८६ सदस्य, ४४ महिला सदस्य र २८ दलित महिला सदस्यको उम्मेदवारी दर्ता भएको छ ।

लमजुङ जिल्ला प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार लमजुङ जिल्लामा १ हजार १ सय ४९ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये प्रमुख पदमा २२ जना, उपप्रमुखमा १२ महिला ११ पुरुष गरी २३ जना, अध्यक्ष पदमा २२ जना, उपाध्यक्ष पदमा ६ महिला ६ पुरुष गरी १२ जना रहेका छन् । ४ जना महिला र २ सय ५ पुरुष गरी २ सय ९ जना वडाध्यक्ष पदमा, २१ जना महिला र ३ सय १९ जना पुरुष गरी खुल्ला सदस्यमा ३ सय ४० जनाको उम्मेदवारी रहेको छ । त्यसैगरी १ सय ९५ महिला सदस्य र २ सय ५ दलित महिला सदस्यको उम्मेदवारी मनोनयन भएको मुख्य निर्वाचन अधिकृत माननीय शिवप्रसाद खनालले बताउनुभयो । त्यस्तै चार ओटा स्थानीय तह रहेको मनाङ जिल्लामा स्थानीय तह निर्वाचन २०७९ को लागि २ सय १० जनाको उम्मेदवारी परेको छ । जसमध्येमा ९ जना अध्यक्ष पदमा, आठ जना उपाध्यक्ष, ४८ वडाध्यक्ष, ८२ जना खुल्ला सदस्य, ४१ महिला सदस्य र २२ दलित महिला सदस्य रहेका छन् ।

नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार आठ ओटा स्थानीय तहमा जम्मा ४ सय ७६ जना निर्वाचित हुने पदमा १ हजार ५ सय ८६ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय कावासोतीका अनुसार प्रमुख पदमा ४० जना, उपप्रमुख पदमा २८ जना, अध्यक्ष पदमा २४ जना, उपाध्यक्षमा १९ जना, वडाध्यक्ष पदका लागि ३ सय ५७, सदस्यमा ६ सय १८, महिला सदस्यमा २ सय ६८ र दलित महिला सदस्यमा २ सय ३२ जनाको उम्मेदवारी दर्ता भएको छ ।

स्याङजा प्रतिनिधि तिलकुमारी थापाका अनुसार ११ ओटा स्थानीय तह रहेको जिल्लामा स्थानीय तह निर्वाचन २०७९ को लागि १ हजार ५ सय ७६ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुतलीबजारका अनुसार प्रमुख र अध्यक्ष पदमा ६७ जना, उपप्रमुख र उपाध्यक्ष पदमा ८० जना, वडाध्यक्ष पदका लागि ३ सय ५१, सदस्यमा ५ सय ७९, महिला सदस्यमा २ सय ६५, दलित महिला सदस्यमा २ सय ३४ जनाको उम्मेदवारी दर्ता भएको छ ।

गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार जिल्लाको ११ ओटा स्थानीय तहमा वैशाख ३० गते हुने निर्वाचनको लागि २ हजार १ सय ७२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये प्रमुख पदमा २८ जना, उपप्रमुख पदमा २३ जना, अध्यक्ष पदमा ४७ जना, उपाध्यक्षमा ३८ जना, वडाध्यक्ष पदका लागि ३ सय ४८, सदस्यमा १ हजार ५ सय ६०, महिला सदस्यमा ६८ र दलित महिला सदस्यमा ६० जनाको उम्मेदवारी दर्ता भएको छ ।

कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार पाँच ओटा स्थानीय तह रहेको कास्की जिल्लामा १ हजार ५ सय २ जनाले उम्मेदवारी दर्ता गरेका छन् । जसमध्ये पोखरा महानगरपालिकामा ८ सय ६, मादी गाउँपालिकामा १ सय ७५, अन्नपूर्ण गाउँपालिकामा २ सय ६, रुपा गाउँपालिकामा १ सय १९ र माछापुच्छ्रे गाउँपालिकामा १ सय ९६ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालय कास्कीले जानकारी दिएको छ ।


इन्सेक, गण्डकी प्रदेश कार्यालय