गणपूरक नपुग्दा महत्वपूर्ण विधेयकको कार्यसूची दसैँपछि

व्यवस्थापिका-संसद्को आजको बैठकमा आवश्यक सङ्ख्या नपुग्दा महत्वपूर्ण विधेयकको कार्यसूची दसैँपछिका लागि सारिएको राससले जनाएको छ ।

बडादसैँ तथा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सांसद् व्यस्त हुन थालेपछि आजको पहिलो बैठकका कार्यसूचीमा रहेकामध्ये तीन विधेयक मात्र पारित भएका छन् । सांसद्को पातलो उपस्थिति भएपछि अब दसैँपछि अर्थात् यही असोज २० गते मात्र बैठक बस्ने जानकारी सूचना टाँस गरी संसद् सचिवालयले दिएको छ ।

आजको कार्यसूचीमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७४’, ‘प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक’, ‘कर्मचारी समायोजनसम्बन्धी विधेयक’ लगायत आधा दर्जन विधेयक पारित गर्ने कार्यसूची थियो ।

पहिलो बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विधेयक पारित गर्दा गणपूरकको प्रश्न उठेपछि तीन मिनेट घण्टी बजाउँदा एक सय ७८ सांसद् उपस्थित भएकामा त्यसपछि सांसद्हरू क्रमशः बाहिरिन थालेपछि अपराह्न सवा १ बजे १५ मिनेटका लागि बैठक स्थगन गरियो । त्यसपछिको बैठकमा ‘मुलुकी देवानी (संहिता) विधेयकमा छलफल भई निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले गणपूरकको प्रश्न उठाएका थिए ।

सभामुखले तीन मिनेट घण्टी बजाई गणना गर्दा १५१ सांसद् रहेको घोषणा गरी उक्त विधेयक पारित भएको जानकारी दिइन् । तर, सुवालले गणनामै विश्वास नलागेको भनी आवाज उठाएका थिए । सभामुखले कार्यसूचीमा रहेको ‘मुलुकी देवानी कार्यविधि (संहिता) विधेयक निर्णयार्थ प्रस्तुत गर्दा पनि सुवाल र सोही दलकी अनुराधा थापाले गणपूरक सङ्ख्या यकिन गर्न पटकपटक आग्रह गर्दा सुनुवाइ भएन ।

संसद्को कार्यसञ्चालन नियमावलीअनुसार बैठकमा कुनै पनि प्रस्ताव निर्णयार्थ पारित गर्न हाल कायम रहेका सदस्य सङ्ख्या ५ सय ९२ को एक चौथाइ अर्थात् १ सय ४८ सदस्य आवश्यक पर्छ ।

सुवालले आफ्नो स्थानबाट उठेर ‘गणपूरक यकिन गर’ भन्दै नाराबाजी गरे पनि कार्यविधि विधेयक पारित भएको घोषणा भयो । त्यसपछि अपराह्न ४ बजेर १५ मिनेटका लागि बैठक स्थगन भयो तर पुनः बैठक चल्न सङ्ख्या पुग्ने आधार नभएपछि असोज २० गतेका लागि बैठक तोकिएको संसद् सचिवालयले जनाएको छ ।

सभामुख घर्ती असोज १० गते पनि बैठक राख्ने तयारीमा रहे पनि सत्तारुढ दलकै सांसद्समेत पर्याप्त उपस्थित नभएपछि बैठक सारिएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का केशवप्रसाद बडालले गणपूरकको प्रश्न सही भए पनि विधेयकहररू पारित गर्नुपर्ने समेत भएकाले आफूहरू मौन बसेको तर सत्तापक्षकै सांसद् कम सहभागी भएपछि बैठक प्रभावित भएको बताए ।


अनलाइन डेस्क