गणतन्त्रमा न्याय नपाएको भन्दै गङ्गामाया आमरण अनसनमा

  ०७५ जेठ १५ गते

गोरखा फुजेलकी ६२ वर्षीय गङ्गामाया अधिकारीले गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेदेखि फेरि आमरण अनसन सुरू गरेकी छन् ।

Photo20180529Ktm (1)

१७ वर्षीय छोरा कृष्णप्रसादको हत्यारालाई कारबाही गर्न माग गर्दै १४ वर्षयता सत्याग्रहमा होमिएकी अधिकारीले जेठ १५ गते पत्रकार सम्मेलन गरी गणतन्त्रमा पनि न्याय नपाएकाले आमरण अनसन थालेको बताएकी छन् । केही समययता झोलिलो पदार्थमा भर पर्दै आएकी अधिकारीले जेठ १५ गतेबाट पानी पनि नखाई अनसन बस्ने जानकारी दिएकी हुन् ।

बिगत लामो समयदेखि सरकारको निगरानीमा वीर अस्पताल काठमाडौँमा राखिएकी अधिकारीले अस्पतालकै बेडबाट सञ्चारकर्मी र मानव अधिकारकर्मीमाझ छोराको हत्यारालाई कारबाही गर्न माग गर्दै पुनः आमरण अनसनको घोषणा गरेकी हुन् । त्यसक्रममा अधिकारीले छोराको हत्यारालाई अझै कारबाही नगरेकोमा आफूमाथि 'न्याय नगरेको' भन्दै अदालतप्रति आक्रोश व्यक्त गरिन् ।

Photo20180529Ktm (2)

न्याय नदिने भए अब आफूलाई पनि फाँसी दिन उनले सरकारलाई चुनौती दिएकी छन् । अधिकारीले छोराको हत्यारालाई कारबाही गर्न माग गर्दै आमरण अनसन गरिरहेकै बेला पति नन्दप्रसादको पनि ज्यान गएकोमा भावविहृवल हुँदै अब पनि न्याय नपाए आत्मादाह गर्ने चेतावनी पनि दिएकी छन् ।

अधिकारीले यसअघि पनि न्यायको माग गर्दै पटकपटक आमरण अनसन बसेकी छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूलाई वास्ता नगरेको भन्दै आपत्ति जनाइन् । बालकृष्ण ढुङ्गेललाई छोडेको र छोराको हत्याराहरूलाई कारबाही नगरिएकोमा उनले दुखः व्यक्त गरेकी छन् ।

Photo20180529Ktm (3)

तत्कालीन विद्रोही नेकपा माओवादी पक्षबाट अपहरण गरी ०६१ साल जेठ २४ गते हत्या गरिएका १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही गर्न माग गर्दै आमरण अनसन बसेका बेला ०७१ असोज ६ गते मृत्यु भएका नन्दप्रसादको शव अझै पनि शिक्षण अस्पतालमा छ ।


सुभाष साह