गड्देव आधारभूत विद्यालयमा अध्ययनरत बालबालिका डेढ वर्षदेखि चिसो ढुङ्गामा बसेर पढ्न बाध्य
पञ्चेश्वर गाउँपालिका–१ स्थित गड्देव आधारभूत विद्यालयको भवन निर्माण भएको डेढ वर्ष वितिसक्दा समेत भवन निर्माणका क्रममा भएको खर्च भुक्तानीको विवादका कारण डेढ वर्षदेखि विद्यार्थीहरु खुला चौरमा चिसो ढुङ्गामा बसेर बढ्न बाध्यभएका छन् ।
२०७९ साल साउन महिनामा निर्माण कार्य सम्पन्न भएको भवनको लागत अनुसारको भुक्तानी नदिएको भन्दै निर्माणको जिम्मा पाएका केशवसिंह घटालले विद्यालयमा लगाएको ताला अझै पनि खुलेको छैन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण सम्पन्न भएको चार कोठे भवनमा डेढ वर्षदेखि ताला लगाइएको छ ।
२०७८ साल कात्तिक महिनाको पहिलो साता परेको अविरल वर्षाका कारण विद्यालयमाथिबाट खसेको पहिरोले पुरानो विद्यालय भवन भत्किएको थियो । त्यसपछि विद्यार्थीहरू बाहिर खुला चौरमा बस्दै आएका थिए । भवन निर्माण सम्पन्न भएको डेढ वर्षसम्म पनि विद्यालयमा ताला लागेपछि विद्यार्थीहरू अझै पनि खुला चौरमा बसेर पढ्न बाध्य छन् ।
पहिरोले विद्यालय भवन भत्काएपछि हालसम्म बालबालिकाहरू भवनभित्र बस्न नपाएको गड्देव आधारभूत विद्यालयका शिक्षक भानु जोशीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘२०७८ साल कात्तिक महिनामा गएको पहिरोले सबै भवन भत्किए । त्यसपछि नयाँ भवन बन्यो । भुक्तानीको विवादले नवनिर्मित भवनमा लगाइएको ताला खुलेको छैन् । दुई वर्षदेखि विद्यार्थीहरू खुला चौखमा बसिरहेका छन् । शिशु कक्षामा अध्ययनरत बालबालिकाहरू चिसो ढुङ्गामै बसेर पढ्ने गरेका छन् । ’
नवनिर्मित भवनमा ताला लगाइएको कारण पठनपाठनमा समस्या उत्पन्न भएको र मौसम प्रतिकुलको समयमा विद्यालय बन्द गर्नु पर्ने बाध्यता रहेको गड्देव आधारभूत विद्यालयका प्रधानध्यापक नीराजन जोशीले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘गर्मीयाममा निकै गर्मी हुने गर्छ । भवन अभावमा गर्मीयाममा केही दिन विद्यालय बन्द गर्नु पर्ने बाध्यता छ । पानी परेको दिन पढाइ हुँदैन । झोलामा विद्यालयका कागजात राख्छौँ । शैक्षिक सामग्रीको पनि अभाव छ ।’
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट भवन निर्माणका लागि ३६ लाख रुपियाँ बजेट आएको भए पनि निर्माण समितिले भवन निर्माण सम्पन्न हँुदासम्म ६९ लाख ६६ हजार रुपियाँ खर्च भएको दाबी गरेको छ । गाउँपालिकाले विद्यालयसँग सम्झौता गरेको ३६ लाख रुपियाँ भुक्तानी गरिसकेको भए पनि लागत अनुसारको भुक्तानी पाउनु पर्ने माग राख्दै निर्माणको जिम्मा पाएका घटालले विद्यालय भवनमा तालाबन्दी गरेका छन् ।
विद्यालय भवन निर्माणका क्रममा सम्झौता रकम भन्दा बढी रकम खर्च हुने जानकारी गाउँपालिकालाई गराइएको र गाउँपालिकाका अध्यक्षले निर्माण कार्य सम्पन्न गरेपछि सम्पूर्ण लागत रकम भक्तानी गर्ने बताउँनु भएको भए पनि आफूले अहिलेसम्म लागत रकम नपाएको निर्माण कार्यको जिम्मा पाउनु भएका केशव घटालले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘गाउँपालिकाका अध्यक्षले समेत काम सम्पन्न गर्नु होस् लागेको रकम दिउँला भन्नु भएको हो । गाउँपालिकाका उपाध्यक्षले पनि विद्यालय भवन निर्माणका क्रममा लागेको सबै रकम दिनु पर्छ भन्नु भएको छ । तर, अहिलेसम्म पनि भुक्तानी गरिएको छैन् । ३६ लाखको काम हुँदा भवन निर्माण पुरा भएको थिएन । विनियोजन गरेको बजेटले काम नभएको बताउँदा काम नरोक्नुस भनेर भने । अहिले भुक्तानीका लागि गाउँपालिका धाउँदा धाउँदा थाकिसकें । आफ्नो व्यक्तिगत रुपियाँ लगाएर विद्यालयको भवन बनाएको छु । हालसम्म १५ लाख रुपियाँको ब्याज तिर्दै आएको छु ।’
सम्झौता भन्दा बढी काम गरेका कारण लागत अनुसार भुक्तानी नभएको पञ्चेश्वर गाउँपालिकाका प्राविधिक घनश्याम मौनीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘विद्यालयसँग भएको सम्झौता भन्दा बढीको काम भएको छ, जनप्रतिनिधिहरूले पनि आश्वासन दिएका रहेछन । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा अपुग भएको रकम गाउँपालिकाले थप्न सक्ने व्यवस्था छ । सोही बमोजिम कार्यपालिकाबाट निर्णय हुन सकेको छैन् ।’
पञ्चेश्वर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष दिवानसिंह सार्कीले यस विषयमा कार्यपालिकामा बेलाबेला कुरा उठाएको भए पनि सुनुवाइ नभएको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘बालबालिकाहरूले विद्यालय भवनमा जान पाउनु पर्छ, मैले बेला बेला यस विषयमा कुरा उठाए । कार्यपालिकाबाट पनि ठोस् प्रक्रिया अघि नबढेपछि समस्या भएको छ ।’
विद्यालय भवन निर्माण गर्न गरिएको सम्झौता अनुसारको रकम भुक्तानी भइसकेकोले निर्माण कार्यको जिम्मेवारी पाउका व्यक्तिले भनेअनुसारको लागत रकम गाउँपालिकाले भुक्तानी गर्न नसक्ने गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनु भयो ।
३६ लाख रुपियाँमा सम्झौता गरिएको भए पनि भवन निर्माण लागत रकम ६९ लाख भनिएकोले सम्झौता नगरिएको लागत रकम दिन नसकिने र आफूले कसैलाई पनि सम्पूर्ण लागत रकम उपलब्ध गराउने भनेर आश्वासन पनि नदिएको गाउँपालिकाका अध्यक्ष चन्दले बताउनु भयो ।
गाउँपालिका र निर्मार्णकर्ता बीच भएको विवादका कारण निर्माण कार्य सम्पन्न भइसकेको विद्यालय भवनमा तालाबन्दी गरिएका कारण बालबालिकाहरुको पठनपाठन कष्टकार बन्दै आएको छ ।
नरी बडु
सम्बन्धित समाचारहरू
वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीमाथि दुर्व्यवहार : इन्सेकद्वारा घटनाकाे भर्त्सना
वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीमाथि जिल्ला अदालत, काठमाडौँको परिसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरूले दुर्व्यवहार गरेको घटनाप्रति इन्सेकले ०८१ माघ २ गते विज्ञप्ति जारी गर्दै निन्दा तथा भर्त्सना गरेको…
अन्धविश्वासका कारण सुत्केरीहरु पोषिलो खानबाट वञ्चित !
जिल्लामा अन्धविश्वास कायमै रहेका कारण सुत्करीहरु पोषिलो खानबाट वञ्चित हुदैआएका छन् ।सुत्केरीलाई घरमा पालेको गाईभैंसीको दूध दिँदा गाईभैंसीलाई रोग लाग्ने रुढीवादी परम्परा र अन्धविश्वासका कारण सुत्केरीहरु गाईभैंसीको दूध दही लगायतका…
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…