गङ्गामायालाई न्याय देऊः इन्सेक

न्यायको माग गर्दै अनसन बसेकै अवस्थामा गोरखा फुजेलका नन्दप्रसाद अधिकारी दिवङ्गत भएको आज असोज ६ गते दुई वर्षपूरा हुँदासमेत उनको परिवार न्यायका लागि आन्दोलनरत रहनु दुखद भएको इन्सेकले जनाएको छ ।

इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा असोज ६ गते जारी प्रेस विज्ञप्तिमार्फत गङ्गामायालाई न्याय दिन र नन्द्रसादको दाहसंस्कार गर्ने व्यवस्था मिलाउन माग गरिएको हो ।

'अधिकारी दम्पती नन्दप्रसाद र गङ्गामाया ०६९ माघ २२ गतेदेखि अनसन बस्दै आएकामा नन्दप्रसादको मृत्यु भएपश्चात पनि गङ्गामायाले न्याय प्राप्तिको आफ्नो अडानलाई आजसम्म कायमै राखेकी छन् ।'-विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा केही समय अघि चितवन जिल्ला अदालतको आदेश अनुसार गङ्गामायाको बकपत्र भएको उल्लेख गरिएको छ । 'बकपत्रमा छोराको हत्या व्यक्तिगत रिसिइवीका कारण गरिएको बताउँदै द्वन्द्वसँग असम्बन्धित घटना भएको उनले दोहोर्‍याएकी छन् ।'-विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा थप भनिएको छ-'नन्दप्रसादको न्याय प्राप्तिको आन्दोलन र मृत्युपछिका दुई वर्षको अवधिमा सरकारले गरेका क्रियाकलापले नन्दप्रसादसँगै न्यायसमेत मार्न खोजिएको आभास हुन्छ । तर, न्याय मार्न सजिलो नहुने कुरा हेक्का राख्न हामी सरकारलाई सचेत गराउन चाहन्छौँ । अधिकारीको मृत्यु र उनकी पत्नी गङ्गामायाको सत्याग्रहलाई अन्तर्राष्ट्रिय मानव अधिकार समुदायले नजिकबाट नियालिरहेको समेत जानकारी गराउँछौँ । अधिकारी परिवारले नेपालमा न्याय नपाए अन्तर्राष्ट्रिय क्षेत्राधिकार आकर्षित हुने कुराको नजिर स्थापित भइसकेकोसमेत स्मरण गराउँछौँ ।'

सरकारको प्रत्यक्ष निगरानीमा अनसनमा बसेका अधिकारीको मृत्यु भएको दुई वर्षपूरा भइसक्दा पनि शवलाई अस्पतालको एउटा बाकसमा थन्क्याउनुपर्ने परिस्थितिले सरकारी उदासीनता झनै छर्लङ्ग्याएको इन्सेकले जनाएको छ ।

मृतक नन्दप्रसादको अन्तिम संस्कार गर्ने वातावरण बनाउन तथा अधिकारी परिवारलाई न्यायको प्रत्याभूति दिन नेपाल सरकारसँग इन्सेकले विज्ञप्तिमार्फत माग गरेको छ ।

फाइल फोटोः रमेशप्रसाद तिमल्सिना

photo20160922ktm photo20160922ktm1 photo20160922ktm2 photo20160922ktm3


अनलाइन डेस्क