गङ्गामायाको बयान लिन सुरु

सशस्त्र द्वन्द्वकालमा मारिएका आफ्ना छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाहीको माग गर्दै पटक–पटक अनशन बसेकी गङ्गामाया अधिकारीसँग जिल्ला अदालत चितवनले असोज २ गते बयान लिन सुरु गरेको छ । चितवन जिल्ला अदालतबाट काठमाडौँ आएका श्रेस्तेदार गेहेन्द्र पन्त र नासु नारायणप्रसाद सेढाईंले वीर अस्पतालमा गङ्गामायाको बयान लिएका हुन् ।

बिहान ११ बजेबाट लिइएको बकपत्र दिनको १ बजेर ३० मिनेटसम्म लिइएकाे बयानमा गङ्गामायाले १३ जना आरोपितको नाम लिएको बयानमा उपस्थित अधिवक्ता आशिकराम कार्कीले बताए ।

चितवन जिल्ला अदालतको गत भदौ २६ गतेको आदेशले छोराको हत्यारालाई कारबाही माग गर्दै अस्पतालमा अनसनरत कृष्णप्रसादकी आमा गङ्गामाया अधिकारीसँग बकपत्र लिन भनेको थियो ।

मृतक छोरा कृष्णप्रसादको हत्याका विषयमा चितवन जिल्ला अदालतले गङ्गामायाको साक्षी बकपत्र गराउने आदेश दिएपछि कानुनव्यवसायी र मानव अधिकारकर्मीको राय सल्लाहामा भदौ २७ गते साँझ उनले अनसन तोडेकी थिइन्

न्यायाधीश टेकनारायण कुँवरको इजलासले गरेको आदेशमा उल्लेख भए अनुसार चितवन जिल्ला अदालतका श्रेस्तेदार र नासुले उक्त बयान लिएकाे श्रेस्तेदार पन्तले बताए ।

छोराको हत्यारालाई कारबाही गरी न्याय दिलाउन माग गर्दै आमा गङ्गामाया र बावु नन्दप्रसाद अनसनमा थिए । अनसनमै रहँदा बाबु नन्दप्रसाद अधिकारीको ०७१ असोज ६ गते मृत्यु भएको थियो । तर, उनको शव अहिलेसम्म त्रिवि शिक्षण अस्पतालमा नै छ । आफूले न्याय नपाएसम्म पतिको दाहसंस्कार नगर्ने गङ्गामायाको अडान छ ।


दिपेन्द्र अधिकारी