खोपमा विभेद, पहुँचवालालाई प्राथमिकता, सर्वसाधारणलाई सास्ती
सरकारले उपलब्ध गराएको कोभिड‐१९ सङ्क्रमण विरुद्धको खोप लगाउने क्रममा विभेद भएको पाइएको छ । जनप्रतिनिधि, राजनीतिक दलका नेता र स्वयंसेवकले विभेद गर्दा पहुँच नपुगेका, अपाङ्गता भएका र जेष्ठ नागरिकले खोप पाउनबाट वञ्चित भएका छन् ।
मध्यपुरथिमि वडा नं. ३ कार्यालयको खोप केन्द्रमा वडाध्यक्ष राम थापा मगरले आफू निकट पार्टीका नेता तथा कार्यकर्ता र उनका सबै परिवारलाई खोप उपलब्ध गराएको तर लाइन बसेकालाई खोप छैन भनेर फर्काएको स्थानीयवासी एवम् जिल्ला समन्वय समिति भक्तपुरकी सदस्य शकुन्लता श्रेष्ठले बताउनुभयो ।
वडा कार्यालयले दिनभर लाइन राखेर २ बजेपछि खोप सकियो भनेर लाइनमा बसेकालाई फर्काएर आफ्ना पार्टीका नेता, कार्यकर्ता र उनका परिवारलाई खोप दिलाए उपलब्ध गराएपछि स्थानीयले खोप केन्द्र नै घेराउ गर्नु परेको बताउनु भयो । वडाध्यक्ष थापा मगरले केही नेता तथा कार्यकता र आफन्तको घरमै गएर खोप लगाउने व्यवस्था समेत गरेको स्थानीय राजाराम थापाको भनाइ छ ।
यता सूर्यविनायक नगरपालिका‐१ सिरुटार स्वास्थ केन्द्रमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि र नेपाल रेडक्रस सोसाईटीकै प्रतिनिधिले खोपमै विभेद गरेको पाइएको छ । खोप लगाउन गएका ४० वर्ष माथिका स्थानीयलाई दिनभर लाइनमा राखेर अपराह्नपछि नै खोप सकिएको भन्दै पर्काएको स्थानीय सुशीला खत्रीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी बिहान ७ बजेदेखिनै लाइनमा बस्यौ तर १ बजेनै खोप सकियो भनेर फर्काइयो, भोली पल्ट आफन्त र ललितपुर जिल्लाका लुभु, लामाटारका आफन्तलाई बोलाएर खोप लगाएको थाहा पायौ, यस्तो विभेदको अन्त्य हुनुपर्छ ।
वडाध्यक्ष सानुकाजी कायस्थले खोपमा अनियमितता भएको आफूले पनि जानकारी पाएको बताउनुभयो । केही जनप्रतिनिधि, स्वास्थ्यकर्मी र रेडक्रसकर्मीलेसमेत आफन्त र बाहिरका मानिसलाई बोलाएर खोप लगाएको पाइएको बताउँदै वडाले त्यस्ता व्यक्तिलाई आगामी दिनमा खोप केन्द्रमै नराख्ने बताउनुभयो ।
यता चाँगुनारायण नगरपालिका नगरकोट स्वास्थ्य केन्द्र, तेलकोट स्वास्थ्य केन्द्र, बागेश्वरी स्वास्थ्य केन्द्रमा १८ वर्ष उमेर नपुगेकालाई समेत खोप लगाएको पाइएको छ । राजनीतिक दलको पहुँच भएकाले एकै घरका १८ वर्षदेखि ६७ वर्षसम्मका आठ जनाले एकै दिन खोप लगाएको बताउँदै स्थानीय कर्साङ वाइबाले खोपमा मनोमानी भएको बताउनुभयो । पहुँच भएकाले १८ वर्ष नपुग्दै खोप पाउने पहुँच नहुने, अपाङ्गता भएका र जेष्ठ नागरिकले भने उमेर समूहमा हुँदा पनि खोप नपाउने बताउनुभयो ।
चाँगुनारायण नगरपालिकाका उपप्रमुख विना बास्तोलाले खोपमा मनोमानी भएको गुनासो आएपछि नगरपालिका मातहतको स्वास्थ कार्यालयलाई विभेद नगरी खोप लगाउन निर्देशन दिएको बताउनुभयो ।
सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले खोप नियम पूर्वक नभई पहुँचवालाको मनोमानी बढेको गुनासो नगरपालिकामा आएको स्वीकार्नु भयो ।
यता मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले खोपमा पहुँचवालाले जथाभावी गरेको दबाब दिएको गुनासो आएकाले स्वयंसेवक परिचालन गरेको बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका कृष्णप्रसाद मिजारले जिल्लाका चार ओटै नगरपालिकालाई कार्यालयले दामासाहीले खोप उपलब्ध गराएको बताउनुभयो । खोपमा अनियमितता भएको, स्वास्थ्यकर्मीले घरमै खोप लगेर आफन्तलाई लगाउने गरेको, नेताले दबाब दिने गुनासो भने आएको बताउनुभयो ।
सरकारले खोप पर्याप्त व्यवस्था गर्न नसक्दा समस्या आएको उहाँको भनाइ छ । जिल्लाका अधिकांश खोप केन्द्रमा खोपमा मनोमानी भएको पाइएको छ ।
रमेश गिरी
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १५ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…