खोपको विषयलाई लिएर विराटनगर महानगरपालिकाका मेयरविरूद्ध प्रर्दशन

  ०७८ साउन १४ गते

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले नेपाली कांग्रेसका कार्यकर्ता तथा आफू निकटका व्यक्तिहरूलाई साउन १३ गते राति घरघरमै गएर कोभिड–१९ विरूद्धको खोप लगाएको आरोपमा युवाहरूले मेयर पराजुलीविरूद्ध साउन १४ गते प्रर्दशन गरेका छन् ।

“खोप सबैको नैसर्गिक अधिकार हो, हाम्रो खोप खोइ” लेखिएका प्लेकार्डसहित विराटनगर महानगरपालिका–५ मुनालपथ क्षेत्रका स्थानीय युवाले महानगरपालिका अघि मेयर पराजुलीविरूद्ध प्रर्दशन गरेका हुन् । साउन १३ गते राति विराटनगर महानगरपालिका–५ मुनालपथका बुथ सभापति विमल राजभण्डारीको घरमा मेयर पराजुलीले कार्यकर्ताका लागि मात्र कोभिड–१९ विरूद्धको भेरोसिल खोप लगाएको आरोपमा युवाहरूले प्रर्दशन गरेका हुन् ।

विमल राजभण्डारीको घरमा भीडभाड देखिएपछि स्थानीयले के भएको भनेर चासो राख्ने क्रममा मेयर पराजुलीको अगुवाइमा कोभिड–१९ विरूद्धको खोप कार्यकर्ता तथा आफू निकटका व्यक्तिलाई लगाएको बारेमा जानकारी भएको प्रत्यक्षदर्शी विराटनगर महानगरपालिका–५ का प्रविण भारद्धाज निरौलाले बताउनु भयो । स्थानीयले विरोध गरेपछि मेयर पराजुली राजभण्डारीको घरबाट भागेको प्रत्यक्षदर्शी निरौलाको भनाइ छ ।

नेपाली कांग्रेसका स्थानीय नेता दीपक चापागाँईले कसैको घरमा गएर खोप लगाइनु दुखद भएको र यो घटनाले कांग्रेसकै बदनाम भएको टिप्पणी गर्नु भएको छ । उहाँले खोप केन्द्रमा अत्यधिक भीड हुनु र मानिसहरूले दुखका साथ खोप लगाउनु परेको अवस्थामा मेयर पराजुली नै संलग्न भएर कसैको घरमा लगेर खोप लगाइनु दुखद् भएको बताउनु भयो ।

व्यक्तिको घरमा र कार्यकर्ताहरूलाई मात्र खोप लगाएको विषयमा इन्सेक प्रतिनिधिले टेफिफोनमार्फत राखेको जिज्ञासामा मेयर पराजुलीले आफ्नो संलग्नतामा खोप लगाएको विषयलाई अस्वीकार गर्नु भएको छ । उहाँले बाहिर हल्ला भएजस्तो कार्य नभएको तर आफूले खोप लिएर गएको भने स्वीकार गर्नु भएको छ ।

Photo 20210729 Morang (2)


नेत्रप्रसाद अधिकारी