खोटाङमा एकै रात चार ओटा स्काभेटरमा आगजानी

  ०७६ मङ्सिर १५ गते

खोटाङस्थित मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवा सडकखण्ड कालोपत्रेका लागि प्रयोग भइरहेका चार ओटा स्काभेटरमा अज्ञात पक्षबाट आगजानी भएको छ ।

कालोपत्रे प्रक्रिया निर्माणस्थलमा राखिएका गोल्डेन गुड शेर्पा कन्ट्रक्सनको चारै ओटा स्काभेटरमा मङ्सिर १४ गते अज्ञात पक्षले आगजानी गरेको हो ।

सो सडकखण्डमा पर्ने दोर्पाको लप्सेखोला र पङ्खुखोलामा तीन ओटा र चखेवाभञ्ज्याङमा एउटा स्काभेटर आगजानी भएको कम्पनीका प्रतिनिधि साङ्गे शेर्पाले बताउनुभयो ।

प्रति ओेटा ९० लाख रुपियाँ पर्ने स्काभेटर पूर्ण रूपमा जलेर नष्ट भएका छन् । शेर्पाका अनुसार मङ्सिर १४ गते राति नौ बजेसम्म निर्माणस्थलमा स्काभेटर प्रयोग गरी काम गरिएको थियो ।

स्काभेटरमा राति ११ र १२ बजेको बिचमा आगजानी भएको हुन सक्ने अनुमान गरिएको छ । दोर्पास्थित निर्माणस्थलमा स्काभेटरको ट्याङकी पड्केको आवाज कामदारहरूले सुनेपछि आगजानी भएको थाहा पाएको हो ।

चखेवाभन्ज्याङमा रहेको स्काभेटरमा आगजानी भएको भने मङ्सिर १५ गते बिहान मात्र थाहा भएको कम्पनीका प्रतिनिधिले जनाएका छन् ।

स्काभेटरमा आगजानी भएको जानकारी पाए लगत्तै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बामदेव गौतमले बताउनुभयो ।

photo20191201khotang (1)

photo20191201khotang (2)


रामधन राई