खुकुरी प्रहारबाट नेपाली काँग्रेस र नेकपा माओवादी (केन्द्र)का दुईजना गम्भीर घाइते

  ०७८ असोज १४ गते

नेपाली काँग्रेसका कार्यकर्ता आठवीसकोट नगरपालिका– ३ स्यालाखदिका २३ वर्षीय कर्णबहादुर बोहरा देवकोटामाथी माओवादी केन्द्रका कार्यकर्ताले खुकुरी प्रहार गरेका छन् ।

आठवीसकोट नगरपालिका– ३ खदिका १८ वर्षीय महेन्द्र विक, सोही ठाउँका २४ वर्षीय गोपाल विक, २१ वर्षीय विष्णु कामी र २३ वर्षीय कृष्ण विकले ०७८ असोज १३ गते आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका इन्स्पेक्टर कपिल शाहीले जानकारी दिनुभयो ।

आठवीसकोट नगरपालिका–३ स्यालाखदीमा यसअघि पनि दुईपटक माओवादी र काँग्रेस कार्यक्रताबिच दोहोर झडप भएको थियो । स्यालाखदीमा तलीगाउँ र माथिगाउँबिचमा लामो समयदेखि विबाद हुँदै आएको छ ।

घटना घटेकै दिन राति कर्णबहादुर बोहराको समूहले माओवादीका कार्यकर्ता तथा घटनाका आरोपित गोपाल विकका बुबा ६२ वर्षीय लाछे कामीलाई पनि आक्रमण गरेका छन् ।

आक्रमणबाट लाछे कामी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आक्रमण गर्नेमा आठवीसकोट नगरपालिका–३ का २३ वर्षीय नेत्र बोहरा, २२ वर्षीय बिरे भण्डारी र २२ वर्षीय शान्ते भण्डारी रहेका छन् ।

घाइते दुवैको अवस्था गम्भीर भएकाले नगर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि असोज १४ गते बिहान हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको नगर अस्पताल प्रमुख मनिराज शाहले जानकारी दिनुभयो ।

आरोपित दुवै पक्षका सातजना फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनायो ।


मनिषा केसी