खुकुरी प्रहारबाट तीन जना घाइते

  ०७७ चैत ९ गते

इलाम नगरपालिका–३ की ४४ वर्षीया पत्नी कमला राई, १२ वर्षीया छोरी प्रमिला राई र छिमेकी १५ वर्षीय बालक अनुप राईलाई चैत ७ गते बेलुका खुकुरी प्रहार गरी घाइते बनाएका ५२ वर्षीय देउमान राईले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

पीडितहरूलाई चैत ७ गते घरायसी विवादमा खुकुरी प्रहार गरी घाइते बनाउने देउमान चैत ८ गते जलकेनी कुस्ती खोलास्थित हिमाल राईको गोठमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुवेदीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

खुकुरी प्रहारबाट पत्नी कमलाको टाउको,  दुवै हात र तिघ्रामा चोट लागेको छ । छोरी प्रमिलाको दाहिने हात देब्रे हातको पाखुरामा र अनुप राईको टाउको र दाहिने कुममा चोट लागेको डिएसपी सुवेदीले बताउनु भयो ।

घाइतेहरू तीनै जनाको झापाको विर्तामोड स्थित विर्ता सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

शवको पोष्टमार्टम चैत ८ गते जिल्ला अस्पतालमा गरिएको छ ।


कोकिला ढकाल