खार्पुनाथ गाउँपालिकाका ९१ जना बालबालिकामा कडा खाले कुपोषण भेटियो

  ०७९ असार २९ गते

पूर्ण खोपयुक्त गाउँपालिकाका रुपमा चिनिएको खार्पुनाथ गाउँपालिकाका ९१ जना बालबालिकामा कडा खाले कुपोषण भेटिएको छ ।

खार्पुनाथका पाँचवटै वडाका बालबालिकाहरूको कुपोषण चेकजाँच गर्दा उक्त कुपोषण देखिएको थियो । गाउँपालिकाको स्वास्थ्य शाखाले स्वाथ्यकर्मीको टोली समेत गाउँगाउँमा खटाएर उनीहरूको स्वास्थ्य परीक्षण गर्दा बालबालिकाहरूमा कडाखालको कुपोषण देखिएको स्वास्थ्य शाखाका प्रमुख बलिराज शाहीले बताउनु भयो ।

०७४ सालमा उक्त गाउँपालिकाका सबै वडा पूर्ण खोपयुक्त घोषित भएका थिए । उमेर अनुुसार खानाको व्यवस्था हुन नसक्नुु, बच्चाको चाहना अनुुसार खाने कुराको व्यवस्था नहुुनुु, आमाले बच्चा छिटो पाउनुु, पोषणयुक्त भिटामिन पाउने खानेकुराको अभिभावकले व्यवस्था गर्न नसकेका कारण बालबालिकामा कुपोषण देखिएको संयोजक शाहीको भनाई छ ।

संयोजक शाहीले पाँच वटै वडाका १६ वडा स्वास्थ्य संस्थाले २२ वटा बस्तीमा स्वास्थ्यकर्मी पुुगेर पाँच वर्षमुुनिका बालबालिकाको पोषणको अवस्था लेखाजोखा गरिएको थियो । स्वास्थ्य संस्थाहरूले पाँच वर्षमुनिका ८ सय ७ जना बालबालिकाको पोषणको अवस्था लेखाजोखा गरेको हो । खार्पुनाथ गाउँपालिकामा पाँच वटा वडा रहेका छन् ।

उक्त कुपोषित मध्ये २० जना बालबालिका शीघ्र कुपोषण देखिएको र ७१ जना बालबालिकामा मध्यम खाले कुपोषण देखिएको छ । दुुवै खाले जम्मा कुपोषित बालबालिका मध्ये ५६ जना बालिका छन् भने ३५ जना बालक रहेका छन् । यसबाट खार्पुनाथमा मात्र ११.२७ प्रतिशत बालबालिका कुपोषित देखिएका छन् । अबदेखि प्रत्येक वर्ष खार्पुनाथ गाउँपालिकाले पोषणको अवस्थाको लेखाजोखा गर्ने जनाएको छ ।

पहिले पोषणका कार्यक्रम युनिसेफ र स्वास्थ्य सेवा कार्यालयले सञ्चालन गरेपनि गाउँपालिका भएदेखि त्यस्ता कार्यक्रम सञ्चालन गरिएको छैन । कुपोषित बालबालिकाको घरघरमा स्वास्थ्यकर्मी गएर अभिभावकलाई सहजीकरण गर्ने कार्य तत्काल सुुरु गर्ने र पोषिला खानेकुरा पनि निःशुल्क वितरण गर्ने कार्य सँगसँगै गर्ने स्वास्थ्य संयोजक शाहीले बताउनु भयो । संघीयता कार्यान्वयन हुनुअघि स्वास्थ्य सेवा कार्यालयले जिल्लाका सबै स्वास्थ्य चौकीमार्फत उक्त कार्य गर्दै आएको थियो ।

बालबालिकामा भएको कुपोषण हटाउनका लागि जिल्ला बाहिरबाट रेडिमेट खाना ल्याउने कार्य भइरहेको र यसले छिटै कुपोषित हट्न सक्ने स्वास्थ्य सेवा कार्यालय, हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताउनु भएको छ ।


नन्द सिंह