खाने पानी र फोहर व्यवस्थापन हुँन नसक्दा कैदीबन्दीलाई समस्या

  ०७६ चैत ११ गते

जिल्ला कारागार बझाङमा खानेपानीको समस्या हुँदा कैन्दीबन्दीहरूले समस्या झेल्दै आएका छन् ।

कारागारमा खाने पानीको समस्या हुदाँ खान बनाउन, सरसफाई गर्न र शौचालन समेत प्रयोग गर्न समस्या भएको जिल्ला कारागारमा रहेका थुनुवा नाइके हिक्मत खड्काले बताउनु भयो ।

उहाँले भन्नु भयो –‘कारागरा भित्र एक ओटा मात्रै धारा छ । धारामा कहिले काही मात्रै पानी आउने गरेको छ । कारागार भित्र क्षमता भन्दा दोब्बर कैदीबन्दीहरू छन् । तर,खानेपानी, फोहरको व्यवस्थापन हुन नसक्दा समस्या भएको छ । समस्या समाधान गर्न कसैले चासो दिएको छैन् । ’

२५ जनाको क्षमता रहेको ङ श्रेणीको जिल्ला कारागारमा हाल ६० जना कैन्दीबन्दीहरूलाई राखिदै आइएको छ । जसमध्ये  ४२ जना कैदैबन्दी र १८ जना थुनुवा रहेका छन् । सुरक्षाकर्मी गरी ८० जना भन्दा बढी कारागारमा बस्ने गरेका छन ।

धारामा कहिले काही पानी आउने भएका कारण खाना पकाउनका लागि पानी भर्न एक जनाले २४ घण्टा धारा कुरेर बस्नु पर्ने बाध्यता रहेको कैदीबन्दीहरूको गुनासो रहेको छ ।

कारागारमा खाने पानीको मात्रै समस्या नभएर फोहर व्यवस्थापनमा समेत समस्या भएको जेलर झलक रोकायले बताउनु भयो ।

खाने पानीको समस्या समाधान गर्न पाइप लाइनहरू व्यवस्थित गर्ने काम भइरहेकोले खाने पानीको समस्या छिट्टै समाधान हुने जेलर रोकायको भनाइ छ ।

वहाँले भन्नु भयो –‘कारागारामा खाने पानीको समस्या त छ नै । फोहर व्यवस्थापनको समया पनि दिन प्रतिदिन बढदै गएको छ । यसका लागि जयपृथ्वी नगरपालिकालाई पटक पटक अनुरोध गर्दा नगरपालिकाले चासो दिएको छैन् । ’

जयपृथ्वी नगरपालीकाका प्रमुख प्रसासकिय अधिकृत मंगल शाहीले नगरपालिकामा ल्याइएका डस्टविनहरू वितरण गरिसकिएकोले हाललाई कारागारमा रहेको फोहर उठाउन नसकिएको बताउनु भयो ।

उहाँले भन्नु भयो –‘थप डस्टविनहरू माग गरिएको छ । डस्टविन आउन साथ नगरपालिकाबाट गाडी पठाएर फोहर उठाउने तयारी भइरहेको छ । ’

 


रमेश के सी