खानेपानी योजना जीर्ण भएपछि ६० घरधुरीमा खानेपानीको हाहाकार

  ०८१ असार १७ गते

बन्गाड कुपिण्डे नगरपालिका–१२ निगालचुलाको दुरुमखोलाको चौपारी, नेटाबजार, लामडाँडा बस्नेउरामा खानेपानीको हाहाकार भएको छ । दुई दशक अघि निर्माण गरेका खानेपानी योजना जीर्ण भएपछि मर्मतका लागि सम्बन्धित निकायले चासो नदिएको र भएका मुहान पनि बढ्दो गर्मीसँगै सुकेपछि खानेपानीको हाहाकार भएको हो । समुन्द्री सतहदेखि करिब २ हजार मिटर उचाईमा रहेको बस्तीमा खानेपानीको हाहाकार भएपछि स्थानीय समस्यामा परेका छन् । उनीहरु एक गाग्री पानीका लागि दुई घन्टा हिँडेर खोला तथा खोला आसपासमा भएका जरुवा धाउन बाध्य भएका छन् ।

खानेपानी लिन जाने गोरेटो सडक गतिलो नभएको र ठाडै उकालो, ओरालो भएकाले स्थानीयले सास्ती भोग्दै आएका छन् । खानेपानीको हाहाकार भएपछि बस्नेउराका ४०, दुरुमखोलाको चौपारी, नेटापोखरा, लामडाँडाका २० गरी ६० घर परिवार प्रभावित भएका छन् । प्रत्येक वर्ष खडेरीको समयमा हुने खानेपानीको हाहाकारका कारण डेढ दशकको अवधिमा झन्डै सय घर विस्थापित भइसकेका छन् ।

०५२ सालमा तत्कालीन खानेपानी कार्यालय र जिल्ला विकास समितिको ४ लाख अनुदानमा निर्माण सम्पन्न गरिएको खानेपानी योजना जीर्ण भएको र अहिलेसम्म मर्मत तथा नयाँ बनाउने बारे कसैले चासो नदेखाएका कारण एक गाग्री पानीका लागि दुई घन्टा पैदल हिँडेर बस्तीदेखि तलको खोला जानुपर्ने बाध्यता रहेको चौपारीकी ४८ वर्षीया निर्मला घर्तीले बताउनुभयो । पुरानो योजनाको पाइप र ट्याङकी कामै नलाग्ने भएकाले मुहानको पानी सुकेर गएकाले खानेपानीको लागि सास्ती भोग्दै आएको उहाँले बताउनुभयो ।

‘बस्तीनजिकै जङ्गल बढी छ, जङ्गली जनावर त्यत्तिकै छन्, अँध्यारोमै उठेर खोला झर्दा जनावरले आक्रमण गर्ने डर हुन्छ, एक्लै पानी लिन जान सकिँदैन, साँघुरो बाटो भएकाले अँध्यारोमा आउजाउ गर्न गाह्रो हुन्छ’ उहाँले भन्नुभयो । लामो समयको खडेरीले पानीका मुहान सुक्दा हिजोआज पानी खोज्दै हिँडनु पर्ने अवस्था रहेको दुरुमखोलाकी ४० वर्षीया प्रमिला रोकाले बताउनुभयो ।
उहाँले मुहान सुक्दा खोलाको प्रदूषित पानी पिउन परेको बताउनुभयो । ‘एक गाग्री पानीको लागि बिहानको समय पूरै बित्ने गर्दा समयमै खाना पकाएर खान पाईदैन, प्रदूषित पानीले गर्दा पखालाको समस्या लाग्ने गरेको छ,’ उहाँले भन्नुभयो ‘पानीकै चिन्ताले राम्रोसँग सुत्न पाइँदैन, बालबालिकाले नियमित विद्यालय जान पाउँदैनन् ।’ खानेपानी योजनाको लागि बारम्बार माग राख्दै आए पनि सम्बन्धित निकायले वास्ता नगरेको उहाँको गुनासो छ ।

०६६ सालमा निर्माण गरेको सौर्य उर्जा विकास कार्यक्रमले लिप्ट खानेपानी योजना सञ्चालन गरेको र त्यो बिग्रेपछि चार वर्षअघि सम्बन्धित निकायले सम्पन्न गरेको अर्को लिफ्ट खानेपानी योजनाको मोटर बिग्रेको र गतिलो मोटर फेर्न नसक्दा बस्नेउरामा पनि खानेपानीको समस्या दुरुमुखोलामा जस्तै रहेको स्थानीय गोबर्धन घर्तीले बताउनुभयो ।

लिफ्ट खानेपानी योजना बिग्रेर सबै कामकाज छाडेर महिलाहरु पानीकै जोहो गर्न ब्यस्त हुने गरेका उहाँले बताउनुभयो । ‘पहिला घर नजिकै धारा आउँथ्यो। कति सजिलो थियो, बिग्रेको मोटर फेर्न नसक्दा अहिले एक घन्टा हिँड्नु परेको छ,’ उहाँले भन्नुभयो । लिफ्ट खानेपानी योजना प्रभावकारी नभएकाले पनि बस्तीका सबैले विभिन्न किसिमका समस्या भोग्नु परेको उहाँको भनाइ छ ।

पुराना खानेपानी योजना तहसनहस भइसकेका, पछिल्लो समयमा निर्माण गरेका लिफ्ट खानेपानी योजना टिकाउ नभएकाले दुरुमुखोला, बस्नेउरा मात्र नभई माझखर्क, चौरमा पनि खानेपानीको समस्या उस्तै रहेको वडाध्यक्ष लालबहादुर घर्तीले बताउनुभयो । पुराना योजना मर्मतका लागि पटक–पटक बजेट विनियोजन गरे पनि थोरै बजेटले राम्रो काम नहुने र सबैको समस्या समाधानको लागि तीन वर्षअघि प्रदेश सरकारबाट परेको १ करोड रुपियाँ बजेटको लिफ्ट खानेपानी योजनाको काम गतिलो हुन नसक्दा समस्या समाधान हुन नसकेको उहाँको भनाइ छ ।

ठूला योजनाको लागि सम्बन्धित निकायमा पहल गर्दै आए पनि खासै सुनुवाइ हुन नसकेको उहाँको गुनासो छ । बाह्रै महिना हुने खानेपानीको समस्याका कारण बस्तीबाट विस्तारै बसाइँसराइ गरेर शहरतिर झरेको स्थानीय बताउँछन् ।
Photo20240701Salyan

 


बुद्धिमान पुन