खानेपानी माग्दै गाग्री बोकेर गाउँपालिका कार्यालयमा पुगे रेक्चाबासी

  ०८१ असार १ गते

चौकुने गाउँपालिकास्थित रेक्चाका नागरिकले खानेपानीको माग राख्दै गाउँपालिका घेराउ गरेका छन् । खानेपानीका लागि भूमिगत कुवा रहेको रेक्चामा यो वर्ष खडेरीका कारण सुकेपछि स्थानीयहरूले जेठ ३१ गते पालिका घेराउ गरेका हुन् ।

सुक्खा खडेरीमा भूमिगत कुवा सुक्दा काकाकुल बनेका स्थानीयहरूले गाग्रीसहित पालिकामा पुगेर प्रदर्शन गरेका हुन् । एक गाग्री पानीका लागि कहिलेसम्म कुर्नुपर्ने सरकार भन्दै स्थानीयले विरोध जनाएका हुन् । खानेपानीको चरम सङ्कट चुलिएपछि स्थानीयबासीहरू रेक्चा खानेपानी सङ्घर्ष समिति नै गठन गरेर विरोधमा उत्रिन बाध्य भएका छन् ।

यसअघि रेक्चाका स्थानीयलाई खानेपानी उपलब्ध गराउन परमादेश जारी गरेको थियो। उच्च अदालत सुर्खेतका कायम मुकायम मुख्यन्यायाधीश माधवप्रसाद पोखरेल र न्यायाधीश पुनम सिंह चन्दको संयुक्त इजलासले परमादेश जारी गरेको थियो । वर्षौंदेखि खानेपानीको अभाव भोग्दै आएका रेक्चाका स्थानीयको तर्फबाट ०८० वैशाख २७ गते दैनिक पानी पुर्याउने बन्दोबस्तको माग गर्दै अधिवक्ता प्रकाशबाबु ऐडी र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतका कार्यक्रम अधिकृत परिस्कृत पौडेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र चौकुने गाउँपालिकाविरुद्ध उच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए। निवेदकद्वयले रेक्चाका नागरिकहरू न्यूनतम मानवीय आवश्यकताभित्र पर्ने स्वच्छ खानेपानीका लागि प्रताडित भइरहेको बताउँदै रेक्चाका ९० घरधूरीलाई तत्कालन खानेपानी उपलब्ध गराउन अन्तरिम आदेश माग गरेका थिए। वैशाख २८ गते अदालतले रेक्चाका स्थानीयका लागि दैनिक न्यूनतम खानेपानी आपूर्ति गर्न के कस्तो प्रबन्ध गर्न सकिन्छ? सो को विवरण प्राविधिकसमेतको सहयोगमा तयार गरी लिखित जवाफ साथ प्रतिवेदन पठाउन चौकुने गाउँपालिकालाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो। खडेरी लागेसँगै रेक्चाका स्थानीयलाई पानीको समस्या पर्ने गरेको छ। १२ महिना मध्ये असार, साउन र भदौ गरी यी तीन महिनामा मात्र त्यहाँका नागरिकहरूले पर्याप्त पानी पिउन पाउँछन् ।

खडेरीमा त गाउँलेहरूले कुवामा चौकीदार राखेरै प्रतिघर दुई गाग्रीका दरले पानी वितरण गर्ने गरेका छन्। त्यहाँ मात्रै होइन्, चौकुनेका रेक्चा, पुच्मा, नाउली र धनरास लगायतका पहाडी ठाउँहरूका स्थानीयहरू पनि पानीको अभावमा जीविका चलाइरहेका छन्।

रेक्चाको पानीको कथा 
शहर भन्दा टाढा, सुनसान अनि रमणीय, पहाडको काखैमा एउटा सुन्दर बस्ती छ । त्यो बस्ती हो सुर्खेत जिल्लाको पश्चिम चौकुने गाउँपालिका वडा नम्बर ५ रेक्चा । यही बस्तीमा करिब ९० घरधुरी छन् । पानीको कुवा घर नजिकै छ । तर प्रयाप्त मात्रामा पानी नहुँदा प्यास मेट्ने गरी न स्थानीयले पानी पिउन पाउँछन् नत गाईबस्तुले नै ।

रेक्चामा १० ओटा कुवा अलि व्यवस्थित छन् भने अन्य आठ ओटा कुवा खुल्ला अस्तव्यस्त छन् । त्यहाँका स्थानीय त्यही पानी पिउँदै आएका छन् । गाईवस्तुनै पानी पिउनका लागि हप्तादिन पर्खिनुपर्ने बाध्यता छ । नजिकै पानीको स्रोत छैन् । कुवामा मानिसलाई नै प्रयाप्त पिउने पानी नपाउने भएकाले पनि गाईवस्तुले दिनहुँ जसो पानी पिउन नपाउने अर्का स्थानीय जितेन बिसीले गुनासो गर्नुभयो

त्यही दुई गाग्री पानीले खाना पकाउने, खाने, मुख धुने, शौचालयमा प्रयोग गर्नुपर्ने बाध्यता छ । स्थानीय नागरिकले सरसफाई नुहाईधुवाईका लागि ३ देखि ४ घण्टाको बाटो हिड्नु पर्ने बाध्यता रहेको उहाँको भनाई छ । बस्तीमा खानेपानीको जोहो गर्न १८ ओटा इनार छन् । तीमध्ये १२ ओटा कुवा फागुनमै सुके । अब चारओटा कुवामा पानी छ । बाँकी दुई ओटा कुवा जीर्ण अवस्थामा छन । त्यो पनि देख्दा दूषित देखिन्छ । कुवाको पानीजस्तो देखिए पनि खानैपर्ने बाध्यता रहेको ५१ वर्षीय गजराज बीसीले बताउनुहुन्छ । कुनै पनि घरले दैनिक दुई गाग्रीभन्दा बढी पानी लैजान पाउँदैन । पानीको पालो रेखदेख गर्न चौकीदार राखिएको छ । सोही चौकीदारले प्रतिघर दुई गाग्री पालो लगाउने गरेका छन् ।

Photo20240615Surkhet (1)

Photo20240615Surkhet (2)


जगतदल जनाला विक