खानेपानी आयोजना निर्माण सम्पन्न नहुँदा दुई स्थानीय तहका जनता मर्कामा

  ०७८ माघ ११ गते

चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकामा खानेपानी पुर्‍याउने उद्देश्यले निर्माण थालिएको पाखापानी लुगाधुने खोला ग्रामीण सौर्य उर्जा खानेपानी आयोजना निर्माण सम्पन्न नहुँदा स्थानीय मर्कामा परेका छन् ।

साविकको जिल्ला विकास समितिबाट सम्झौता गरेर निर्माणको काम सुरूवात गरेकोे ६ वर्ष बितिसक्दा पनि उक्त आयोजना अहिलेसम्म निर्माण नभएको चौरजहारी नगरपालिकाका देव बहादुर वलीले बताउनु भयो ।

यसैगरी सानिभेरी गाउँपालिकाका स्थानिय धनविर खड्काले पाइप लाइन बिस्तार गरेपनि जसोतसो जडान गरिएको पानी समान रूपमा नआउने गरेको गुनासो गर्नु भयो ।

उहाँले भन्नुभयो, ‘तीन दिनमा एक पटक मात्र आउँदा ठूला भाँडा हुनेहरूले केहि दिनलाई पुग्ने गरेर सञ्चित गरेर राख्छन् तर, हामीहरूले भने एक दिनलाई पुग्ने मात्र पानी भरेर राख्नुपर्ने अवस्था छ ।’

खानेपानीकोे पाइप बीच बीचमा चुहिने गरेको र पानी बिस्तारका लागि पनि पर्याप्त पाइप नबिच्छ्याउँदा पानीको समस्या भइरहेको उहाँको भनाइ छ ।

एक घर एक धाराको अवधारणा अन्तर्गत ०७२ सालदेखि चौरजहारी नगरपालिका–१४ नम्बर वडा र सानीभेरी गाउँपालिकाको १० नम्बर वडामा पानी पुर्‍याउने उद्देश्यले यो आयोजनाको निर्माण कार्य सुरू गरिएको थियो ।

दुइओटा स्थानीय तहका करिब ६ सय जनताले पानी नपाएर सास्ती पाइरहेको अवस्थामा जनप्रतिनिधिले चासो नदिएको स्थानियको गुनासो छ ।

चौरजहारी नगरपालिका–१४ का वडाध्यक्ष अतिराम बिष्टले दुइओटा पालिकाको साझेदारीमा काम सुरू भएकोले बराबर रकम हालेर काम पुरा गुर्नपर्ने भएको हुँदा खानेपानी आयोजना निर्माण हुन ढिला भएको जानकारी दिनु भयो ।

खानेपानी समितिका अध्यक्ष धनसिंह खड्का बसाइसराई गरेर दाङ्ग गएको र नयाँ समिति पनि सक्रिय हुन नसकेकोले खानेपानी योजना पूरा गर्नतर्फ कसैको चासो नभएको अध्यक्ष विष्टको भनाइ छ ।


मनिषा केसी