खानेपानी अभाव हुँदा स्थानीय समस्यामा

  ०७७ साउन ८ गते

जिल्ला सदरमुकाम चैनपुरमा खानेपानीको अभाव हुँदा यस क्षेत्रका झण्डै २ हजार स्थानीयहरु समस्यामा परेका छन् ।

एक हप्तादेखि खानेपानी अभाव हुँदा आफूहरु सेती नदीको पानी पीउन बाध्य भएको स्थानीय रुमला कठायतले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘खानेपानी अभावमा खान पकाउन,भाडाकुडा धुन समस्या भएको छ । खोलाको फोहर पानी खानु पर्ने बाध्यता छ ।’

एक हप्तादेखि धारामा पानी नआउँदा लुगाकपडा धुन र शौचालय प्रयोग गर्नसमेत समस्या भएको स्थानीय होटल व्यावसायी पुतली लामाले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘धारामा पानी आउँदैन् । एक घण्टा हिडेर पालो कुरेर पानी ल्याउनु पर्ने बाध्यता छ ।’

पानी अभावका कारण आफूहरुलाई खाना पकाउन नै समस्या भएको स्थानीय शिवम रोकायले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– धारामा पानी नआएको हप्तौँ भइसक्यो । सेती नदीबाट पानी ल्याएर गुजारा गरिरहेका छौँ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर सन्दिप ओखेडाले नदीको पानी खाँदा  झाडापखाला, टाइफाइड जस्ता पानीजन्य रोगहरुको जोखिम बढने बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘नदीको पानि खानु परेमा सुद्दिकरण वा उमालेर खानु पर्छ । यसो गर्दा जोखिम कम हुन्छ ।’

चैनपुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र विष्टले अविरल वर्षाका कारण पहिरो गई खानेपानीको मुहान र ठाउँठाउँमा पाइपहरु बगाउँदा समस्या उत्पन्न भएको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘मौसम राम्रो भयो भने केही दिन मै पाइपहरु मर्मत गर्छौँ । आशा छ, छिट्टै खानेपानीको समस्या समाधान हुन्छ ।’

जयपृथ्वी नगरपालिकाका प्रमुख विरेन्द्र खड्काले पहिरोका कारण खानेपानीका पाइपमा क्षति पुगेकोले स्थानीय उपभोक्ताहरुलाई पानीको समस्या भएको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘खानेपानी उपभोक्ता समितिलाई छिटोछरितो रुपमा खानेपानीका पाइपहरु मर्मत गर्न भनेको छु । केही दिनमै पाइपहरु मर्मत हुन्छन् । खानेपानीको समस्या हुदैन् ।’


रमेश के सी