खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा

  ०७७ वैशाख २९ गते

जयपृथ्वि नगरपालिका – ७ स्थित सुबेडा स्वास्थ्य चौकीमा शुद्ध खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् ।

पानीको अभाव भएका कारण आफूले एक घण्टाको बाटो हिडेर खोलाबाट बाल्टिनमा पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको सुबेडा स्वास्थ्य चौकीका कार्यालय सहयोगी रामप्रसाद जोशीले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो –‘१० वर्ष अगाडि खानेपानीको धारा निमार्ण त भएको थियो । तर, पाईप जमिन भित्र नगाडिएकोले करिब ६ सय मिटर पाईप  चोरी भयो । पानीको मुहान पनि सुकेर गयो । अहिले धाराको नमूना मात्रै छ ।’

स्वास्थ्य चौकीमा पानीको अभाव रहेका कारण प्रसूति सेवा लिन आएका र सुत्केरी भएका महिलाहरूले लुगा धुन र सरसफाइ गर्नका लागि स्वास्थ्य चौकी नजिकै रहेको चौपाख्या खोलामा जानु पर्ने बाध्यता रहेको वर्थिङ सेन्टरका अनमी ममता खत्रीले बताउनु भयो ।

स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएको र हाल कोरोना भाइरस महामारीका कारण सबै जनाले पटकपटक हात धुनु पर्ने भएकोले खोलाबाट २० लिटर पानी ल्याएर फिल्टर गरी काम चलाउने गरेको स्वाथ्य चौकीका प्रमुख बिनोद खड्काले बताउनु भयो ।

उहाँले भन्नु भयो – ‘जयपृथ्वि नगरपालिका भित्र सबैभन्दा बढि सुत्केरी हुँन यही स्वास्थ्य चौकीमा आउँछन् । तर, पानीको अभावले गर्दा सुत्केरी महिलाहरूलाई सास्ती भएको छ ।’

स्वास्थ्य चौकी व्यवस्थापन समितिको बैठक बसेको समयमा पानीको समस्या समाधान गर्ने विषयमा छलफल गर्ने र चिन्ता व्यक्त गर्ने गरेको भए पनि समस्या समाधानका लागि पहल नभएको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

जयपृथ्वि नगरपालिका वडा नम्बर – ७ का अध्यक्ष हरीचन्द जोशीले खाने पानी आयोजना निर्माण गरी समस्या समाधान गर्ने भन्नु भएको तीन वर्ष वित्त लागेको भए पनि वडा नम्बर ७ र स्वास्थ्य चौकीमा खाने पानीको समस्य समाधान नभएको स्थानीय दिपक जोशीले बताउनु भयो ।

वडा अध्यक्ष जोशीले भने आफूले स्वास्थ्य चौकी तथा वडा नम्बर ७ मा रहेको खानेपानीको समस्या समाधानका लागि पहल गरिरहेको बताउनु भयो ।

सुबेडा स्वास्थ्य चौकीमा खाने पानीको समस्या भएको भन्ने बारेमा आफूलाई जानकारी नगराइएको र समस्या भए पानीको मूहान खोजेर समस्या समाधान गर्ने जयपृथ्वि नगरपालिकाका प्रमुख बिरेन्द्र खडकाले बताउनु भयो ।


रमेश के सी