खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा

  ०८१ असोज २३ गते

जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको सुबेडा स्वास्थ्य चौकीका कार्यालय सहयोगी विष्नादेवी जोशीले दुखेसो पोख्नुभयो ।

उहाँले भन्नुभयो– ‘१० वर्ष अगाडि खानेपानीको धारा निमार्ण त भएको थियो । तर, पाईप जमिन भित्र नगाडिएकोले करिब ६ सय मिटर पाईप चोरी भयो । पानीको मुहान पनि सुकेर गयो । अहिले धाराको नमूना मात्रै छ ।’ स्वास्थ्य चौकीमा पानीको अभाव रहेका कारण प्रसूती सेवा लिन आएका र सुत्केरीहरूले लुगा धुन र सरसफाइ गर्नका लागि स्वास्थ्य चौकी नजिकै रहेको चौपाख्या खोलामा जानु पर्ने बाध्यता रहेको प्रसूती केन्द्रका सिनियर अनमी दुर्गा बम जोशीले बताउनु भयो ।

स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएकोले खोलाबाट २० लिटर पानी ल्याएर फिल्टर गरी काम चलाउने गरेको स्वाथ्य चौकीका प्रमुख बिनोद खड्काले बताउनु भयो ।

उहाँले भन्नुभयो– ‘जयपृथ्वी नगरपालिका भित्र सबै भन्दा बढि सुत्केरी हुन यही स्वास्थ्य चौकीमा आउँछन् । तर, पानीको अभावले गर्दा सुत्केरीहरूलाई सास्ती भएको छ ।’

स्वास्थ्य चौकी व्यवस्थापन समितिको बैठक बसेको समयमा पानीको समस्या समाधान गर्ने विषयमा छलफल गर्ने र चिन्ता व्यक्त गर्ने गरेको भए पनि समस्या समाधानका लागि पहल नभएको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष तथा सुवेडा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष शिवराज जोशीले खानेपानीको मुहान नभएकाले स्वास्थ्य चौकीमा खानेपानी पुगाउन नसकिएको र मुहानको खोजी भइरहेको बताउनु भयो ।


सत्यराज सिंह