खानेपानी अभाव भएपछि स्थानीय समस्यामा !

  ०८१ कार्तिक ३० गते

मेलौली नगरपालिकाका अधिकांस ठाउँमा खानेपानीको अभाव भएपछि स्थानीयहरुले समस्या भोग्नुपरेको छ ।

जिल्लाकै प्रसिद्ध मेलौली भगवतीको मन्दिर, आयुर्वेदिक औषधालय, मणिलेक मावि, प्राथमिक स्वास्थ्य केन्द्र, मणिलेक बहुमुखी क्याम्पस र काँडाबजार क्षेत्र गरी ठुलो जनसङ्ख्या रहेको यस क्षेत्रका स्थानीयले खानेपनीको समस्या भोग्नुपरेको हो  ।

छेवैमा सुर्नया नदी बगे पनि योजना र बजेट नहुँदा एक जर्किन पानी भर्न तीन दिन पालो कुर्नु पर्दा काँडाबासी तिर्खाले काकाकुल हुनु पर्ने बाध्यता रहेको स्थानीय मंकेश दयालले दुखेसो पोख्नु भयो  ।

मेलौली नगरपालिकाका वडा नम्बर १, २, ७, ८ र ९ लाई छोएर तलतिर सुर्नया नदी बगिरहेको छ । नगरपालिकाको उत्तरतिर ग्वाल्लेक संरक्षित वनको पानी, ३ नम्बर वडाको ढणैनखोला, ५ नम्बर वडाको महारुद्र खोला र मर्छलेखोला बगिरहे पनि मेलौली नगरपालिका–७ काँडामा पानी ल्याउने योजना र बजेट नहुँदा पानीको हाहाकार भएको स्थानीय जगदीशसिंह नायकले बताउनु भयो ।

मेलौली नगरपालिका–७ को ओरडपाखा भएर सुर्नया नदी बगिरहे पनि काँडाबजारमा पानीको योजना आउन नसकेको स्थानीय उपभोक्ता भोजराज भट्टले गुनासो गर्नु भयो । बजारसँगै जोडिएको चौकुने गाउँमा सिँचाइ नहुँदा अधिकांश जमिन बाँझो छ । सिँचाइ नहुँदा मेलौली बजारमा बाहिरबाट तरकारीलगायत दैनिक उपभोग्य वस्तु आयात हुने गरेको छ ।

photo20241115baitadi

काँडाबजारमा मात्रै २ सय ६० घरपरिवार बसोबास गर्छन् । मणिलेक माविमा १ हजार ३ सय र क्याम्पसमा ४ सय विद्यार्थी अध्ययनरत छन्  । पानी नहुँदा शिक्षक र विद्यार्थीले खोलाबाट पानी बोकेर खानु पर्ने बाध्यता रहेको मणिलेक बहुमुखी क्याम्पसका प्रधानाध्यापक भीमसिंह धामीले बताउनु भयो । धारामा पानी भर्न राखेको ४० लिटरको जर्किन भर्न तीन दिन पालो कुर्नु परेको उहाँले गुनासो गर्नु भयो ।

काँडाबजारमा २०४७ सालमा ग्वाल्लेकबाट ल्याइएको खानेपानी योजना जीर्ण हुँदा समस्या भएको स्थानीय राजेन्द्र भट्टले बताउनु भयो । पानीको हाहाकार भएपछि स्थानीय ३२ परिवारले प्रतिव्यक्ति ४५ हजार रुपियाँ सङ्कलन गरेर नजिकैको पटौट खोलाबाट सौर्य पाता जडान गरेर पानी तान्ने प्रयास गरे पनि सफल हुन सकेको छैन् ।

काँडाबजारसँगै जोडिएको मेलौली नगरपालिका–१ स्थित सुर्नया नदीबाट पानी लिफ्ट गरिएको भए पनि बजेट अभावका कारण  नजिकैको महादेव खोलाबाट पानी लिफ्ट गर्न नसकिएकोले स्थानीयले खानेपानीको समस्या भोग्नुपरेका स्थानीय उपभोक्ता लोकराज भट्टले गुनासो गर्नु भयो ।

जिल्ला खानेपानी कार्यालय, बैतडीका प्रमुख गोविन्द देवकोटाले स्थानीय सरकारबाट खानेपानी योजना नै नआएको र यो वर्ष उपभोक्तालाई लिफ्ट खानेपानीको प्रस्तावना पेस गर्न अनुरोध गरिएको बताउनु भयो ।

खानेपानीको समस्याका विषयमा नगरपालिकामा गुनासो आएकाले मुहानको खोजी भइरहेको मेलौली नगरपालिकामा प्रमुख भीमबहादुर चन्दले बताउनु भयो । काँडाबजारको खानेपानी समस्याका विषयमा नगरपालिकामा छलफल समेत भएको र सुर्नया नदीबाट पानी लिफ्ट गर्न नगरपालिकाको बजेटले नपुग्ने भएकाले प्रदेश सरकारलाई सहयोग गर्न अनुरोध गरिएको नगरप्रमुख चन्दले बताउनु भयो ।


नरी बडु