खानेपानी अभावका कारण स्थानीयलाई सास्ती

  २०८१ वैशाख ३१

सिलगढीस्थित गैरागाउँ, काणामाडौँ  र सिलगढी बजार क्षेत्रमा एक हप्तादेखि खानेपानीको अभाव हुँदा यस क्षेत्रका स्थानीयहरुले सास्ती खेप्नुपरेको छ ।

गैरागाउँ, काणामाडौँ, सिलगढी खानेपानी आयोजना अन्तर्गत पर्ने खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा आगलागीबाट खानेपानीका पाइपहरु नष्ट भएको एक हप्ता बितिसक्दा पनि पाइपको मर्मतसम्भार हुन नसकेपछि स्थानीयहरुले खानेपानीको अभाव झेल्नुपरेको हो ।

आगलागीका कारण क्षति पुगेका खानेपानीका पाइपहरुको समयमै मर्मत हुन नसक्दा स्थानीयहरुले खानेपानीको समस्या झेल्नुपरेकोले समस्या समाधानका लागि प्रयास भइरहेको खानेपानी उपभोक्ता तथा सरसफाई समिति, सिलगढीका कार्यालय प्रमुख राम धामीले बताउनु भयो ।

photo20240513doti (3)

आगलागीका कारण ५ सय ८१ मिटर खानेपानीको पाइप जलेर नष्ट भएको र ४ सय मिटर पाइपमा थप क्षतिपुगेका कारण मर्मतका लागि आवश्यक पर्ने पाइप ढुवानी भइरहेको समेत कार्यालय प्रमुख धामीको भनाइ छ ।

कलेना सिलगढी खानेपानी लाइनबाट स्थानीयहरुका लागि खानेपानीको प्रबन्ध मिलाइएको भए पनि माग अनुसारको आपूर्ति गर्न नसकिएकोले स्थानीयहरुले समस्या झेल्नुपरेको उहाँले बताउनु भयो ।

खानेपानीको अभाव भएपछि ढुङ्गेधाराबाट एक गाग्री पानी लिनका लागि लाइनमा बस्नु पर्ने र घण्टौँसम्म कुर्नु पर्ने भएकोले विद्यालय जान समेत समय नभएको स्थानीय विद्यार्थी तेज रैकालले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘पानीको अभावमा खाना पकाउन, लुगा धुन तथा सरसफाई गर्न समस्या भएको छ । शौचालयमा समेत पानीको अभाव हुँदा स्वास्थ्यमा नै समस्या आउने डर छ । ढुङ्गेधारामा पालो कुरेर बस्दा क्याम्पस र विद्यालय जान ढिलो हुनेगरेको छ ।’

photo20240513doti (1)

आगलागीबाट क्षतिपुगेका खानेपानी पाईपको मर्मत नभएपछि सिलगढी क्षेत्रका ९ सय उपभोक्ताहरुले खानेपानीको अभाव झेल्नुको छ भने डेरा गरी बस्ने विद्यार्थी तथा कर्मचारीहरुले समेत सास्ती खेप्नुपरेको छ ।

क्षति पुगेका खानेपानी पाईपको मर्मत गर्न पाईप ढुवानीका लागि दिपायल सिलगढी नगरपालिकासँग समन्वय गरिरहेको र अन्य सरोकारवाला निकायहरुसंँग पनि सहयोगका लागि अनुरोध गरिएको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष नरेस मलासीले बताउनु भयो ।

photo20240513doti (2)


सुबास नेपाली