खानेपानीबाट वञ्चित हुनु परेको स्थानीयहरुको गुनासो

  ०७८ असोज ३१ गते

केदारस्यू गाउँपालिकाको–७ काडाचौर र भामचौरमा रहेको खानेपानीको धारा भत्किएको लामो समय वितिसक्दा समेत सरकारले वास्ता नगरेका कारण आफूहरु खानेपानी पाउनबाट वन्चित भएको सो क्षेत्रका स्थानीयहरुले गुनासो गरेका छन् ।

२०३५ सालमा बनेको खानेपानीको धारा भत्किएपछि अन्य विकल्प नहँदा आफूहरुले खानेपानी पाउनका लागि सास्ती खेप्नु परेको स्थानीय पदम धामीले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘गाउँमा पुरानो एक धारा थियो । अहिले धारा भक्किनुका साथै पाइपहरु पनि फुटेका छन् । धारा र पाइपको मर्मत गर्ने कार्य हुन सकेको छैन् ।  धारा तथा पानीका पाइपहरु फुटेका कारण एक गाग्री पानी लिनका लागि पनि घण्टौँसम्म लाइनमा बस्नु पर्छ । धारामा पानी नआएको दिन रित्तै घर फर्किनु पर्ने अवस्था छ ।’

काडाचौर र भामचौरमा पानीको समस्या भएपछि शौचालय प्रयोग गर्न, सरसफाइ गर्न, गाइबस्तुलाई पानी खुवाउन र बालबालिकाको सरसफाइमा समस्या उत्पन्न भएको स्थानीय हासुली धामीले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो – ‘एक गाग्री पानी ल्याउनका लागि महिलाहरुले तीन चार घण्टासम्म कुर्नु पर्ने बाध्यता छ । कहिले काही त पानी नपाएर रित्तै भाडो लिएर फर्किनु परेको छ । २०७४ साल अगाडी खानेपानी कार्यालयबाट काडाचौर र भामचौर खानेपानी निर्माणको लागि योजना आएको भएपनि कार्यान्वयन भएन् । जिर्ण अवस्थामा रहेको पुरानो खानेपानी लाइन करिव १२ किलोमिटर टाँढाबाट ल्याएको छ । सरकारले कुनै वास्ता गरेको छैन् ।’

काडाचौर र भामचौरीमा ३ सय ५० घरधुरी खानेपानीबाट वञ्चित हुदै आएको भएपनि खानेपानी कार्यालय र स्थानीय सरकारले समस्या समाधानका लागि पहल नगरेको स्थानीय गणेश बोहराले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘संघीयता आउनु भन्दा अगाडी खानेपानी कार्यालयले धारा तथा पाइप मर्मतको लागि बजेट छुट्याएको सुनियो । तर, खानेपानीको समस्या समाधान भएको छैन् । ४ करोड रुपियाँ लगानीमा भामचौर खानेपानी योजना सञ्चालन गर्ने भनिएको भएपनि उपभोक्ता समितिको लापरवाहीले सो योजना पनि सम्पन्न हुन सकेन् । समस्या समाधानका लागि केदारस्यू गाउँपालिका र खानेपानी कार्यालय, चैनपुरमा निवेदन दिएका छौँ । तर, सुनवाइ हुन सकेको छैन् ।’

खानेपानी कार्यालय, चैरपुरका प्रमुख भक्तबहादुर खड्काले खानेपानी समस्या समाधानका लागि अघिल्लो वर्ष २० लाख रुपियाँ बजेट विनियोजन गरिएको भएपनि कार्यान्वयन हुन नसक्दा समस्या समाधान हुन नसकेको र यसवर्ष पनि धारा तथा पाइप मर्मतका लागि १५ लाख रुपियाँ बजेट छुट्याइको बताउनु भयो ।

केदारस्यू गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारीले काडाचौर र भमचौरबासीलाई खानेपानीको समस्या भएकोले त्यसको समाधानका लागि पहल भइरहेको बताउनु भयो ।

photo20211017bajhang (2)

photo20211017bajhang (1)

 


उत्तमकुमार थापा