खानेपानीको समस्याले स्थानीय मर्कामा

  ०७८ चैत ३० गते

सानीभेरी गाउँपालिका–११ र चौरजहारी नगरपालिका–१३ र १४ का लागि निर्माणाधीन खानेपानी योजनाले पूर्णता नपाउँदा स्थानीयबासी खानेपानीको चरम समस्यामा परेका छन् ।

योजना अन्तर्गत चौरजहारीका १३ र १४ नम्बर वडा र सानीभेरी गाउँपालिकाको माथिल्लो बस्तीदेखि तिमीले र चिन्तु विद्यालयसम्म आर्थिक वर्ष २०७२/०७३ मै विस्तार भएपनि त्यहाँदेखि तल्लो बस्तीका स्थानीयलाई पानीको अभाव रहँदै आएको थियो ।

हाल चौरजहारी नगरपालिकाले सौर्य सिष्टममार्फत गाउँसम्म पानी पुर्‍याउन कुल १ करोड रुपियाँ बराबरको लगानी गरेको छ भने कर्णाली प्रदेश सरकारले पनि ३० लाख रुपयाँ लगानी गरेको छ ।

उक्त रकम सबै खर्च भइसक्दा पनि खानेपानी व्यवस्थित हुन नसकेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष भिमबहादुर केसीको भनाइ रहेको छ ।

स्थानीयबासी र जिल्लास्थित नागरिक समाजले यहाँको खानेपानी समस्या समाधानका लागि आवाज उठाएपनि हालसम्म समस्या समाधान हुन सकेको छैन ।

हाल यहाँका २ सय घरधुरीले पुरानो टुटेफुटेको पाइपबाट बगेको पानीलाई सञ्चित गरी दैनिकी चलाउन बाध्य भएको स्थानीय प्रकाश खड्काले बताउनु भयो ।

भौगोलिक विकटताका कारण योजनालाई व्यवस्थित गर्न बढी खर्च लाग्ने र नगरपालिकाले पहल गरेपनि आर्थिक अभावले समयमा नै समस्या समाधान गर्न नसकिएको चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले बताउनु भयो ।


मनिषा केसी