खानेपानीको समस्याले स्थानीय मर्कामा

  ०७८ असोज १३ गते

चौरजहारी नगरपालिका–३ घारी टाटागाउँमा खानेपानीको समस्या हुँदा स्थानीयवासी मर्कामा परेका छन् ।

गाउँमा एउटा मात्र धारा रहेको र त्यसमा प्रयाप्त पानी नआउँदा ३२ घरपरिवारले दिनभरी पालो कुर्नुपर्ने बाध्यता रहेको स्थानीय कालीबहादुर नेपालीले बताउनुभयो ।

नगरपालिकाले एक घर एक धाराको अवधारणा ल्याएपनि धारा जडानको शुल्क महङ्गो भएका कारण उक्त धारा जडान नगरी पहिलेदेखि नै प्रयोग गर्दै आएको धाराको पानी प्रयोग गर्ने गरेको उहाँको भनाइ छ ।

‘दैनिक एक घण्टा मात्र धारामा पानी आउँछ त्यसले पुरै गाउँलाई पुग्दैन’–नेपालीले भन्नुभयो,–‘एक घर एक धारा अन्तर्गत चौहरजारीमा भेरीको पानी ल्याएपनि धारा जडान गर्दा प्रति घरपरिवारले १० हजार रूपियाँ तिर्नुपर्ने भएकोले धारा जडान गर्न सकेका छैनन् ।’

पानी भर्नको लागि दिनभरी धारामा कुर्नुपर्दा घरको अन्य काममा बाधा भएको स्थानीय चुके कामीले बताउनुभयो ।

यस्तै धारामा पानी नआएको दिन एक घन्टाको बाटो हिडेर मुहानमै पुग्नुपर्ने बाध्यता रहेको स्थानिय भिमबहादुर केसीले जानकारी दिनुभयो ।

नगरपालिकालाई उक्त धारा थप व्यवस्थित गरिदिन अनुरोध गरेपनि नगरपालिकाले ध्यान नदिएको स्थानीयको गुनासो छ ।

नगरपालिकाले एक घर एक धाराको लागि लिफ्टिङ्ग प्रविधिमार्फत धारा जडान गरेको चौरजहारी नगरपालिकाका प्रमुख बिशाल शर्माले जानकारी दिनुभयो ।

नगरपालिकाका सबै वडामा एक घर एक धारा अन्तर्गत धारा जडान गरेकोले हाल खानेपानी प्रशस्त भएको उहाँको दावि छ ।

धारा जडान गर्न नसकेका घरपरिवारले भने खानेपानीको समस्या भोगेको भन्दै उहाँले गरीव घरपरिवारको लागि निःशुल्क धारा जडान गरिदिने सम्बन्धमा नगरपालिकामा छलफल भैरहेको जानकारी दिनुभयो ।

विद्युतको प्रयोगमा मेसिनबाट पानी तानिने हुँदा विद्युत महशुल, कर्मचारीको पारिश्रमिक सबै हेरेर गरीव घरपरिवारको लागि धारा जडान गरिने उहाँको भनाइ छ ।

खानेपानी तथा सरसफाई कार्यालय चौरजहारीले प्रति परिवारले सात युनिटसम्म पानी प्रयोग गरेमा २ सय ५० रूपियाँ शुल्क निर्धारण गरेको छ ।

photo20210929 Rukum west


मनिषा केसी