खानेपानीको व्यवस्था नहुँदा स्थानीयलाई सास्ती

वर्षौदेखि गाँउमा खानेपानीको व्यवस्था नहुँदा झिमरुक गाँउपालिका — ६ तोरवाङ्गका १ सय घर परिवारले सास्ती भोग्दै आएका छन् ।

तोरवाङ्ग, जनैपोखरा र धनमुढा गाँउका एक सय घर परिवारले बाह्रै महिना ठुलापधेरा कुवाको पानी पिउन बाध्य छन् ।

गाँउको नजिक कतै पनि पानीका मुलहरू नभएकाले सबै घर परिवार एउटै कुवाको पानी पिउनुपर्ने बाध्यता रहेको स्थानिय ५५ वर्षीय लोकबहादुर पुनले बताउनु भयो । एक गाग्री पानी लिन एक घण्टा लगाएर कुवामा पुग्नुपर्छ अनि घण्टौ पालो कुरेर पानी भर्नुपर्ने बाध्यता रहेको पुनले बताउनु भयो ।

एउटै कुवामा गाँउले निर्भर हुनुपर्ने भएपछि बिहान उज्यालो नहुँदै कुवामा पानी भर्नेको लाइन लाग्ने र पालो कुर्दा कुर्दै समय लाग्ने भएकोले खानेपानीको समस्याले घरयासी काम र बालबालिकालाई समयमै विद्यालय पठाउन नसकिएको स्थानिय ४५ वर्षीया माया पुनले बताउनु भयो ।

“निर्वाचनको समयमा राजनीतिकदलहरूले गाँउमा पानी ल्यादिने आशा देखाउने गरेपनि निर्वाचन सकिएपछि गाँउमा न पानी आउछ न त राजनीतिकदलका मान्छे आउछन् ।,”स्थानिय माया पुनले भन्नु भयो ।

उक्त गाँउमा खानेपानीको समस्या रहेको र आफूहरूले गाँउमा पानीको व्यवस्था गर्न सङ्घीय सरकारसँग बजेट माग गरे अनुसार सङ्घीय सरकारबाट बजेट बिनियोजन भएको  र अव काम सुरू हुने झिमरुक गाँउपालिका — ६ का वडा अध्यक्ष धनबहादुर पुनले बताउनु भयो ।


रविन्द्र पाण्डे