खानेपानीको अभाव भएपछि एक घण्टा टाढाको दूरीबाट खानेपानी बोक्न बाध्य भीमटारवासी

  ०८१ जेठ ३१ गते

इन्द्रावती गाउँपालिका— ११ स्थित भीमटारका स्थानीयहरू खानेपानीको अभाव भएपछि एक घण्टा टाढाको दूरीबाट खानेपानी बोक्न बाध्य भएका छन् ।

गर्मी बढेसँगै स्थानीय स्तरमा रहेका खानेपानीका मुहानहरू सुकेपछि भीमटारका दनुवार समुदाय लगायतका नागरिकहरूलाई खानेपानीको समस्या भएको हो ।

गाउँमा खानेपानीको अभाव भएपछि एक घण्टाको पैदल हिँडेर वडा नम्बर १० मा रहेको कुवामा पालो कुरेर पानी भर्नुपर्ने बाध्यता भएको इन्द्रावती गाउँपालिका— ११ की सुस्मिता दनुवारले बताउनु भयो । उहाँका अनुसार खानेपानी लिन जाँदा घरको सबै काम धन्दाहरू अलपत्र हुन्छ, एक गाग्री पानी लिएर आउन एक घण्टा समय बित्छ ।

मानिसका लागि मात्र होइन वस्तुभाउलाई पानी खुवाउनसमेत समस्या परेको इन्द्रावती गाउँपालिका— ११ की कुमारी दनुवारले बताउनु भयो । याहाँका अधिकांश नागरिकहरू कृषि पेसामा सङ्लग्न छन् । कृषक भएकै कारणले नागरिकहरूले गाई, भैँसी पाल्ने चलन अत्याधिक छ । घर पालुवा गाई, भैँसीलाई धेरै पानीको आवश्यकता पर्ने भएकोले पनि गाउँमा पानीको हाहाकार नै परेको कुमारी दनुवार बताउनु हुन्छ ।

गाउँमा खानेपानीको सामुदायिक धारा भए पनि पानी आउन बन्द भएको धेरै समय भएकोले आफूहरूलाई खानेपानीको समस्या भएको इन्द्रवती गाउँपालिका— ११ की सुशीला सापकोटाले बताउनु भयो ।

दनुवार, माझी, अधिकारी, सापकोटा लगायतका मिश्रित जाती समुदायको बसोबास रहेको उक्त गाउँमा विगत धेरै वर्ष अघिदेखि खानेपानीको अभाव त थियो  । यस वर्ष  लामो खडेरीका कारणले गाउँमा भएका खानेपानीका मुहानहरू सुकेकाले खानेपानीको समस्या भएको वडा अध्यक्ष राम्जी माझीले बताउनु भयो । इन्द्रावती नदीको बगर छेउमा रहेको उक्त गाउँमा खानेपानी समस्या समाधान गर्न निकै प्रयास गरेपनि दीर्घकालिनरुपमा समाधान गर्न नसकिएको वडा अध्यक्ष माझीले बताउनु भयो ।

खानेपानीको अभाव छ, खानेपानीको व्यवस्था गर्न गाउँपालिका अध्यक्षलाई धेरै पटक अनुरोध गर्दा पनि हाम्राे समस्या यथावतै रहेको स्थानीय गोपिलाल माझीले बताउनु भयो ।

गाउँमा खानेपानीको अभाव भएपछि स्थानीय श्री परोपकार आधारभूत विद्यालयको पढाइमा समेत बाधा परेको स्थानीय अभिभावक हरिबाबु सापकोटाले बताउनु भयो । सापकोटाका अनुसार विद्यालय गएका विद्यार्थिहरू खानेपानी लिन जाँदा समय धेरै लाग्ने भएकाले पढाइमा बाधा परेको हो ।

नेपालको संविधान २०७२ को भाग ३ धारा ३५ को ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ भनिएको छ । त्यसैगरी ०७९ भदौ २१ गते प्रमाणीकरण भएको खानेपानी तथा सरसफाई ऐन, २०७९ को दफा ३ को उपदफा १ मा खानेपानी तथा सरसफाईको अधिकारसम्बन्धी व्यवस्था गरिएको छ । तर इन्द्रावती गाउँपालिका– ११ का स्थानीय नागरिकहरू स्वच्छ खानेपानीको अधिकारबाट वञ्चित भएका छन् ।

photo2024061301sindhupalchok

photo2024061302sindhupalchok


नातिबावु धिताल