खानेपानीको अभाव झेल्दै सिङ्गो गाउँ !

  ०८१ भदौ ३१ गते

पर्वतको दक्षिणी क्षेत्रमा पर्दछ, बर्राचौर । केही समथर भूभाग र केही अग्ला डाडाँमा बर्राचौरको बस्ती छ । कालीगण्डकी लोकमार्ग बस्ती बिचबाट गएको छ । उत्तर दक्षिण जोड्ने लोकमार्ग छेउका बस्तीहरु भने अझै पनि सुख्खा–सुख्खा छन् । उब्जनी, उत्पादनको प्रचुर सम्भावना बोकेको बर्राचौरबासीका पिडा भने दर्दानक छन् ।

स्थानीय यादव गिरीका अनुसार पछिल्लो समय गाउँमा खानेपानीको हाहाकार बढ्दै गएपछि अहिले सुविधाको खोजिमा बजार केन्द्रीत हुनेको सङ्ख्या बढेको छ । अर्का स्थानीय रामप्रसाद पराजुलीले खानेपानीको आयोजना सुचारु नहुँदा गाउँमा बस्ने वातावरण नभएको बताउनु हुन्छ । उहाँले खानेपानी नहुँदा बसाईसराईको दर अझै बढ्ने देखिएको तितो यथार्थ व्यक्त गर्नु भयो ।

गाउँमा बस्यो खानेपानी छैन । खेती लगायो, बाँदरले खान्छ । यस्तैयस्तै दुःखका बिच पिल्सिएका छन् बर्राचौरबासी । वडाध्यक्ष गणेश शर्मा पौडेलले पनि गाउँमा खानेपानीको चरम अभाव भएको उल्लेख गर्नु भयो । सरकारले खानेपानीको लागि आयोजना सुरू गरे पनि ति आयोजना अझै पूरा भएका छैनन् । 'लिफ्टिङ खानेपानीको योजना छ, तर बजेट छैन ।'-स्थानीय हरी पराजुलीले सुनाउनु भयो ।

सरकारले ठूलो धनराशी विभिन्न शीर्षकमा खर्च गर्छ, तर खानेपानीको अभाव भएका स्थानमा अझै पनि सरकारले माग बमोजिमको बजेट हाल्न सकिरहेको छैन । पछिल्लो समय यो क्षेत्रमा बसाईसराईको दर उच्च छ । विहादी गाउँपालिकाका बरौचौर, रानीपानी र शालिग्राम खानेपानीको चरम अभाव भएका स्थानहरु हुन् । ति गाउँहरुमा खानेपानी खुवाउनका लागि शुरु भएका आयोजनाहरु काम शुरु भएको वर्षौसम्म पनि पुरा भएका छैनन् ।


सन्तोष थापा