खानेपानीको अभावले आम नागरिक समस्यामा

  ०७९ फागुन ३० गते

हरिनास गाउँपालिका– ६ पुर्कोटका विष्णु बहादुर रुचाल डोकोमा गाग्री बोकेर ओराली उकाली गर्न थालेके निकै धेरै वर्ष भएको छ । वर्षौ देखि खानेपानीको अभाव रहेको हरिनासमा एक गाग्री पानी ल्याउन एक घण्टा लाग्ने अनि पानी भर्न पालो कुर्नुपर्ने बाध्यता विष्णु बहादुर रुचाल मात्र नभई त्यस स्थानका ५० घर परिवारको संयुक्त समस्या रहेको छ  ।

नेपाल पानीको स्रोतमा विश्वमै दोस्रो ठुलो देश हो । स्वच्छ खानेपानी नागरिकको जन्मसिद्ध अधिकार भएता पनि आम नागरिकले खानेपानीको सुविधा नपाउँदा समस्यामा रहेका छन् ।

वर्षायाममा आकास बाट आउने पानी संकलन गरि प्रयोग गरिने भएता पनि पिउनको लागि फेदी बाट पानी बोक्नै पर्ने समस्या रहेको छ । वडा अध्यक्ष डिल बहादुर रानाले यस ठाउँमा पानीको अभाव भएको स्थानिय देखी केन्द्रका प्रतिनिधिहरू सबैलाई थाहा भएको तर पनि जनप्रतिनिधिहरूले बेवास्ता गर्दै आएको स्थानीय बासीको गुनासो रहेको बताउनुभयो ।

पिउने पानीको अभावका बारेमा हरिनास गाउँपालिका अध्यक्ष खिम बहादुर मानन्दर सँग छलफल गर्दा स्थानिय गाउँपालिकामा प्राप्त बजेट अत्यन्त न्यून रहेको जस मध्येबाट पनि ६० प्रतिशत तलब भत्तामा खर्च हुने र ४० प्रतिशत बजेटले गाउँपालिकाका आधारभूत आवश्यकता समेत सम्बोधन गर्न नसक्ने बताउनुभयो ।

मानन्धरले हाल उक्त क्षेत्रको खानेपानी आपूर्तीका लागि गण्डकी प्रदेश सरकार संग समन्वय गरिरहेको र वैशाख महिना बाट काम सुरू हुने आशा गरेको बताउनुभयो  ।


राधाकृष्ण शर्मा