खाद्य सङ्कटका कारण स्थानीय समस्यामा

  ०७८ असार ३१ गते

हिमाली गाउँपालिकामा खाद्य सङ्कट उत्पन्न भएपछि आफूहरु समस्यामा परेको यस क्षेत्रका स्थानीयहरुले गुनासो गरेका छन् ।

हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा ठेकेदारले चामल ढुवानी गर्ने सम्झौता गरेको वर्ष दिन बितिसक्दा पनि अनुदानको चामल ढुवानी नभएपछि यस क्षेत्रका स्थानीय समस्यामा परेका हुन् ।

चामल ढुवानीको जिम्मेवारी पाएका ठेकेदारहरुको लापर्वाहीका कारण हिमाली गाँउपालिका वडा नम्बर १, २, र ३ को बिच्छाया क्षेत्र र वडा नम्बर ४ र ५ को रुगीनमा खाद्य सङ्कट भएको हिमाली गाउँपालिका–३ का वडाध्यक्ष धनलाल रोकायाले बताउनु भयो ।

तीन दिन लगाएर कवाडी डिपोमा चामल लिन आएको भएपनि डिपोमा चामल नभएपछि रित्तो हाल घर फर्किन बाध्य भएको हिमाली गाँउपालिका–१ बिच्छायाका  धर्मलाल रोकायाले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘ डिपोमा चामल पाइन्छ भनेर २५ जना गाउँबाट आयौँ । डिपोमा चामल नपाएपछि सबै जना रित्तोहात फिर्कियौँ । एक महिनादेखि चामल नभएपछि स्थानीय ठाउँमा पाउने सिस्नो, कन्दमूल, गीठा र  भ्याकुर खाएर छाक टार्नु परेको छ ।’

साहुसँग ४ हजार रुपियाँ ऋण लिएर तीन दिन हिडेर चामल किन्न आएको भएपनि डिपोमा चामल नपाएपछि रित्तै फर्किनु परेको हिमाली गाँउपालिका–१ का चन्द्रबहादुर बुढथापाले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘साविकको बिच्छाया गाबिसमा मात्रै ४ हजार जनसङ्ख्या रहेको छ । सबै घरमा खाद्य सङ्कट भएको छ । स्थानीय उत्पादनले वर्षमा दुई महिना पनि खान पुग्दैन ।’

हिमाली गाउँपालिका जिल्लाको सार्वधिक विकट गाउँपालिका हो । यो गाउँपालिकाको टाढाको गाउँ पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्ने गर्दछ ।

कवाडी अस्थायी डिपोका लागि खाद्य संस्थान, बाजुराले यो वर्ष मात्रै ३ हजार कुण्टेल चामलको कोटा स्विकृत भएर ठेक्का दिएको थियो । मार्तडीबाट एल.बि कन्टक्सन, कोल्टिबाट ओमशिव कन्टक्सन र धनगढीबाट बडिमालिका कन्टक्सन एण्ड अडर सप्लायर्सले चामल ढुवानी गर्ने जिम्मेवारी पाएको भएपनि हालसम्म १ हजार ५ सय कुण्टेल चामल मात्रै डिपोमा पुगेको मार्तडी खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडका प्रमुख मेखराज ओझाले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘एल.बि र ओमशिब कन्टक्सनले आफ्नो कोटाका चामल ढुवानी गरेर बिकी्र गरेर रकम भुक्तानी लिइसकेको छ । तर, धनगढीबाट ढुवानी जिम्मा लिएको बडिमालिका कन्टक्सन एण्ड अडर सप्लायर्सले २ सय १० कुण्टेल चामल ढुवानी गरेको छैन् । जसका कारण डिपोमा चामल नै सकिएकोले स्थानीयलाई समस्या भयो । चामल ढुवानी नगर्ने सप्लायर्सलाई ताकेता गरिरहेका छौँ ।’

कवाडी डिपोमा चामल ढुवानी गर्ने जिम्मेवारी पाएको बडिमालिका कन्टक्सन एण्ड अडर सप्लार्यसका सञ्चालक लोकेन्द्र रावलका अनुसार पहिला चाम बिक्री नभएर ढुवानी कमै गरिएको र अहिले बाटो बन्द हुनुको साथै धनगढीस्थित भण्डारमा चामल सकिएको छ ।

प्रमुख जिल्ला अधिकार गोपालकुमार अधिकारीले कवाडी डिपोमा चामल सकिएको जानकारी आएको बताउँदै प्रदेश सरकारलाई चामल ढुवानीको लागि अनुरोध गरिएको बताउनु भयो ।


पदमबहादुर सिंह