खाद्य डिपोमा चामल नहुँदा स्थानीयलाई सास्ती

  ०८१ असार ५ गते

अपि हिमाल गाउँपालिकाका खाद्य डिपोहरुमा खाद्यान्नको चामल सकिएपछि स्थानीय रित्तै घर फर्किन बाध्य भएका छन् । गाउँपालिका क्षेत्रमा रहेका तीन ओटै खाद्य संस्थानका डिपोहरुमा चामलको अभाव भएपछि स्थानीयहरुले सास्ती खेप्नुपरेका हो ।

अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिंह बोहराका अनुसार गाउँपालिका क्षेत्रमा स्थापना भएका खण्डेश्वरी खाद्य डिपो, घुसा खाद्य डिपो र सितोला खाद्य डिपोमा खाद्यान्नको चामल सकिएको छ । यसले गर्दा अहिले यहाँका स्थानीयहरु महँगो मूल्यमा स्थानीय व्यपारीहरुबाट चामल किन्नु पर्ने बाध्यता आएको छ ।

खण्डेश्वरी खाद्य डिपोमा अहिले जिरा मसिनो चामल १ सय ५० क्विन्टल मौज्दात रहेकोमा अन्य दुई डिपोमा मोटो र मसिनो दुवै चामल सकिएको गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले जानकारी दिनु भयो ।

अपि हिमालको खण्डेश्वरी र घुसा खाद्य डिपोमा समान १५/१५ सय क्विन्टलको कोटा भए पनि सितोला खाद्यडिपोमा १ हजार क्विन्टलको कोटा रहेको छ । चामल नहुँदा यार्सागुम्बा संकलनमा जाने स्थानीय रित्तो फर्किनुपरेको छ । स्थानीयले व्यापारीलाई यार्सागुम्बा दिने सर्तमा मोटो चामल खान बाध्य रहेको अध्यक्ष ठेकरे बताउनु हुन्छ ।

बिक्री केन्द्रमा चामल नहुँदा खाली हात फर्कनुपरेको अपि हिमाल गाउँपालिका–४ का जमनसि‌ंह मन्यालले दुःखेसो पोख्नु भयो । अपिहिमाल गाउँपालिकामा स्थानीय बालीले तीन महिनादेखि चार महिनामात्रै पुग्छ । भिरालो जमिन भएका कारण खेती राम्रो हुँदैन् । आयस्रोतका रुपमा यार्सागुम्बा र जडिबुटी संकलन गरेर खाद्यान्नको जोह गर्नु पर्ने स्थानीयको बाध्यता छ ।

यातायातको पहुँचबाट टाँढाको डिपोमा चामल ढुवानी नहुदाँ स्थानीयले अहिले व्यापारीबाट यार्सा दिने शर्तमा महँगो मूल्यमा चामल खरिद गर्नुपरेको स्थानीय झलकसिंह धामीले गुनसो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘खाद्यान्न अभावका कारण प्रतिकिलो ५० रुपियाँमा पाउने मोटो चामल व्यापारीबाट प्रतिकिलो ७० देखि ८० रुपियाँमा किन्नु पर्ने बाध्यता छ । गाउँपालिका केन्द्रसम्म सडक पहुँच पुगेका छैन् । सडक नहुँदा उस्तै ढुवानी महँगो छ । अहिले सडक पुगेको मकरिगाडदेखि खण्डेश्वरी घुसासम्म पु¥याउन १० रुपैयाँ ढुवानी भाडा पर्छ ।’

चामल ढुवानी प्रक्रियामै भएकाले नयाँ चामल कहिले आउछ भन्नेबारे अहिले नै भन्न सकिने अवस्था नरहेको खण्डेश्वरी डिपोका कर्मचारी नरभानसिंह ठेकरेले बताउनु भयो ।


नरेन्द्रसिह कार्की