खाद्यान्न नहुँदा सर्वसाधारण मर्कामा

  ०७८ जेठ ३१ गते

सोरू गाउँपालिका र खत्याड गाउँपालिकामा रहेको नेपाल खाद्य संस्थानको डिपो र बिक्रि केन्द्रमा खाद्यान्न नहुँदा त्यस क्षेत्रका सर्वसाधारण मर्कामा परेका छन ।

सोरू गाउँपालिकाको सोरू डिपो र खत्याड गाउँपालिकाको तातापानी बिक्रि केन्द्रमा एक महिनादेखि खाद्यान्न ढुवानीको जिम्मा लिएका ठेकेदारले ढुवानी नगर्दा सौलियतको चामल अभाव भएको हो ।

दुबै ठाउँमा ठेकेदारले ढुवानी नगरेको भन्दै कार्यालयमा ताला लगाएर कर्मचारी सदरमुकाम हिडेपछि समस्या भएको सोरू गाउँपालिका–४ का पुरन नेपालीले बताउनु भयो ।

‘खाद्य संस्थानको चामल बजारको भन्दा धेरै सस्तो पर्छ । सौलियतको चामल ३० किलोलाई १ हजार ४ सय देखि १ हजार ५ सय ५० पर्नेमा बजारको चामल १ हजार ९ सय देखि बाइस सय रूपियाँसम्म पर्छ’ नेपालीले भन्नुभयो ।

कोभिड नियन्त्रणका लागि खत्याड गाउँपालिकाले एक गाँउबाट अर्को गाउँ जान रोक लगाएको बेला सर्वसाधारणलाई चामलको जोहो गर्न समेत हैरानी भएको छ ।

तातापानी बिक्रि केन्द्रमा खाद्यान्न शुन्य भएको जानकारी आएपछि तत्काल खाद्यान्न ढुवानी गर्न खाद्य संस्थानमा अनुरोध गरिएको खत्याड गाउँपालिकाका अध्यक्ष उब्जन शाहीले बताउनु भयो ।

सोरू गाउँपालिकामा रहेको सोरू डिपोमा चालु आर्थिक वर्षकालागि खाद्य संस्थान मुगुबाट १ हजार र सुर्खेतबाट १ हजार गरी जम्मा २ हजार क्विन्टल कोटा निर्धारण गरिएकोमा सुर्खेतबाट ढुवानी नहुँदा समस्या भएको छ ।

सोरूमा ढुवानीको जिम्मा लिएको शर्मा ढुवानी सेवा र तातापानीको लागि बराल ढुवानी सेवाका ठेकेदारलाई तत्काल ढुवानी गर्न पत्राचार गरेको खाद्य संस्थान मुगु शाखाका सूचना अधिकारी पुस्कर भामले बताउनु भयो ।


जीवन सेजुवाल