खाद्यान्न ढुवानीका लागि तुइनको प्रयोग गर्न बाध्य

  ०७९ जेठ ९ गते

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय, हुम्लाको खाद्यान्न तुइनबाट ढुवानी गर्न बाध्य भएको छ । सर्केगाट गाउँपालिका नजिक रहेको कर्णाली नदिमा पुल नभएपछि तुइनमार्फत ढुवानी गर्नु परेको खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय, हुम्लाका प्रमुख कृष्णप्रसाद अधिकारीले बताउनु भयो ।

सर्केगाड गाउँपालिका केन्द्र, सलीसल्ला र बाग्रे भन्ने स्थानबाट माउण्टेन हेलिकप्टरले ०७८ चैत २२ गतेदेखि सदरमुकाम सिमकोटमा रहेको शाखा कार्यालयमा उक्त खाद्यान्न ढुवानी गर्दै आएको छ ।

सो कर्णाली नदिमा अन्य कुनै व्यवस्था नभएपछि तुइनको प्रयोग गर्नु परेको शाखाका प्रमुख अधिकारीले बताउनु भयो ।

उक्त नदीमा पुल निर्माण गरेर खाद्यान्न ढुवानी गर्न थालिएको हो । कर्णाली करिडोरको सलीसल्लासम्म नेपालगञ्ज र सुर्खेतबाट गाडीमा ढुवानी गरिएको खाद्यान्नलाई तुइन ढुवानी गरेर कर्णाली पारी तार्ने गरिएको प्रमुखको भनाई छ ।

खाद्यान्नलाई तुइनबाट ढुवानी गरी नयाँ गोदाम निर्माण गरेर राख्ने गरिएको छ । यसका लागि आठ जना कामदारलाई खाद्यान्न तुइनमा ढुवानी गर्ने जिम्मा लगाइएको बताइएको छ ।

तुइन तरेको खाद्यान्नलाई ट्याक्टरबाट सलीसल्लामै निर्माण गरेको हेलिप्याड नजिकको गोदाममा राख्ने गरिएको छ । उक्त स्थानबाट भने हेलिकप्टरबाट खाद्यान्न ढुवानी हुँदै आएको छ ।

यसरी तुइनबाट पाँच हजार भन्दा बढी खाद्यान्न ढुवानी गर्नुपर्ने शाखाले जनाएको छ । शाखाको गोदामका लागि हवाई मार्गबाट खाद्यान्न ढुवानी हुनुपर्नेमा हवाइजहाजले खाद्यान्न ढुवानी गर्न छोडेपछि सप्लायर्स कम्पनीले उक्त उपाय अपनाउनु परेको जनाएको छ ।
HumlaPhoto_2022-05-23


नन्द सिंह