खाद्यान्नको अभावमा दसैँ मनाउनु पर्ने स्थानीयबासीको गुनासो
खाद्य डिपोमा तीन महिनादेखि खाद्यान्न ढुवानी हुन नसक्दा स्थानीयबासीले खाद्यान्नको अभावमा दसैँ मनाउन बाध्य हुनुपरेको गुनासो गरेका छन् ।
गएको असारमा पाँच केजीका दरले चामल वितरण भएकोमा त्यसपछि ढुवानीमा समस्या हुँदा स्थानीयबासीले असोज ४ गतेसम्म खाद्यान्नको समस्या भोग्दै आएका छन् । जिल्लामा रहेका तीन ओटै खाद्य डिपोमा तीन महिनादेखि खाद्यान्न ढुवानी हुन सकेको छैन ।
अदानचुली गाउँपालिका-१ का जगत भियाललाई दसैँ नजिकिँदै गर्दा खाद्यान्नको जोहो कसरी गर्ने भन्ने चिन्ताले निकै पिरलेको छ । वर्षको पर्वमा परिवारलाई भात खुवाउन श्रीनगर खाद्य डिपोमा पुगेका जगतले डिपोका सबै कोठामा ताला लगाएको देखेपछि साना नानीबावुले 'दसैँमा त भात पाइन्छ है बाबा !' भनेको शब्द मात्र सम्झिए ।
चामलका लागि सर्केगाड खाद्य डिपोमा सर्केगाड गाउँपालिका-५ रोडिकोटका राजेन्द्र कार्की डिपोमा गएपछि डिपोका कर्मचारीले चामल सकिएको भनेपछि रित्तो हात फर्कदैँ चामलबिनाको दसैँ जिवनमा पहिलो पटक मनाउनु पर्ने बाध्यता आइलागेको गुनासो गरे । श्रीनगरका भियाल र रोडीकोटका कार्की मात्र होइनन् सिमकोट गाउँपालिका-२ ठेहेका जङ्ग बोहोराले पनि सिमकोटमा भएको खाद्य संस्थानबाट चामल नपाएपछि यो दसैँ चामलको अभावमा बित्ने भयो भन्दै गुनासो गरे ।
गएको वर्षरूमा दसैँ मनाउनकै लागि भए पनि नेपाल खाद्य संस्थानले पर्याप्त मात्रामा चामल उपलब्ध गराउँदै आएको भए पनि जिल्लाबासीलाई यो वर्ष भने सरकारले समयमा ढुवानी गर्न नसक्दा चामल नपाउने भएका छन् । हुम्लाका स्थानीयबासीलाई सरकारले ढुवानी अनुदानमा उपलब्ध गराउँदै आएको चामल पर्याप्त मात्रामा ढुवानी नगरेपछि यो वर्ष हुम्लीबासीको दसैँ भात बिनाकै बित्ने भएको स्थानीयबासीको भनाई छ ।
चामल ढुवानीको प्रकृया झन्झटिलो भएकोले नेपाल खाद्य संस्थानले सिमकोट लगायत अन्न डिपोसम्म चामल पुर्याउन सकिरहेको छैन । एक मात्र यातायात सञ्चालन हवाई सेवा भएतापनि भारतीय तिर्थयात्री बोकेपछि खाद्यान्न ढुवानी नगरेको खाद्य संस्थान शाखा कार्यालयका प्रमुख नारायण सिंह केसीले बताए । हरेक महिना सिमकोट र आसपासका बासिन्दालाई वडा भाग र कुपन अनुसार चामल विक्री गर्दै आएको नेपाल खाद्य संस्थान सिमकोट शाखाले पर्याप्त चामल ढुवानी गर्न नसक्दा वितरण गर्न नसकेको प्रमुख केसीले बताए ।
प्रतिमहिना सबैलाई पुग्ने गरी चामल वितरण गर्दा १ हजार ५ सयदेखि १ हजार ८ सयसम्म प्रति क्वीन्टल चामल आवश्यक पर्ने भएकोले अहिले खाद्य संस्थानमा तीन सय क्वीन्टल मात्र बाँकी रहेको प्रमुख केसीले बताए ।
यतिखेर जिल्ला सदरमुकाम सिमकोटमा भएको खाद्य संस्थानको डिपोमा ३ सय क्वीन्टल मात्र चामल रहेको छ भने अरू दुई ओटै डिपोमा चामल नभएपछि यहाँका स्थानीयबासी मर्कामा परेको श्रीनगरका पदमराज हमालले बताए ।
यस आर्थिक वर्षा लागि सरकारले विनियोजन गरेको १८ हजार क्वीन्टल चामलमध्ये एक दाना पनि ढुवानी नभएको र गएको आर्थिक वर्षाबाट सरेको ३ हजार क्वीन्टल मध्ये १ हजार ८ सय क्वीन्टल चामल मात्र वितरण गर्न नसकेको संस्थानका एक कर्मचारी कृष्ण अवस्थीले बताए । चामल ढुवानी हुन सकेमा दसैँपछि वितरण गर्ने प्रमुख केसीले बताए ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
मुस्ताङ मार्फाको तापक्रममा अस्वभाविक परिवर्तन !
हिमालपारीको जिल्ला मुस्ताङको मार्फा क्षेत्रमा मापन गरिएको तापक्रमको विवरण हेर्दा पछिल्लो समय तापक्रममा केही बढोत्तरी हुनुका साथै अस्वभाविक परिवर्तन भएको पाइएको छ । गर्मी समयमा अधिक तापक्रम पुग्ने र चिसो…
कर्णाली प्रदेशमा ‘बालविवाह’ को सङ्ख्या बढ्दै !
कर्णाली प्रदेशमा ‘बालविवाह’ को सङ्ख्या बढ्दै गएको छ । जुम्लामा १७.९ प्रतिशत बालविवाह गरेका छन् । जसमा बालकको सङ्ख्या ८.६ र बालिकाको सङ्ख्या २६ प्रतिशत रहेको छ । हिमाली जिल्ला हुम्लामा…
समाचारको प्रभावः कोथपेका स्थानीयलाई आउजाउ गर्न र्याफ्टिङ
गत असोज १० गतेदेखि १२ गतेसम्म परेको वर्षाले सुनकोशी नदीको झोलुङ्गे पुल र पक्की पुल बगाएपछि खाँडादेवी गाउँपालिका–१ कोथपेको माझी बस्तीका स्थानीयले सुनकोशी तर्न ट्युबको प्रयोग गरेको समाचार इन्सेक अनलाइनलगायतका…
भूकम्पबाट आवास विहिन भएका नागरिकले पाउने रकम नपाउँदा बिचल्ली !
जिल्लामा ०८० कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पबाट आवास विहिन भएका नागरिकले पाउने रकम नपाउँदा बिचल्लीमा परेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकारण व्यवस्थापन प्राधिकारणले पोर्टलमा अपुरो विवरण प्रविष्ट हुँदा…
द्वन्द्वले प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान हुँदै
बाँसगढी नगरपालिकाले सुरुवात गरेको द्वन्द्वपीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान कार्य सकारात्मक भएको द्वन्द्वपीडित बाँसगढी नगरपालिका–६ की ४५ वर्षीय शारदा थारुको भनाइ रहेको छ । द्वन्द्वकालमा सरकारसँग…