खडेरीका कारण मकै बालीमा क्षति, जिल्लामा खाद्य सङ्कटको जोखिम

  ०८१ असार ५ गते

रामेछाप जिल्लाको प्रमुख खाद्य बालीकोरूपमा रहेको मकै बालीमा खडेरीका कारण क्षति पुग्दा जिल्लामा खाद्य सङ्कटको जोखिम बढेको छ ।

जिल्लामा किसानले लगाएको मकै खेती वर्षा नहुँदा सुकेर जान लागेपछि खाद्य सङ्कटको जोखिम बढेको हो ।

रामेछापमा चैत र वैशाख महिनामा बारीमा मकै रोप्ने गरिन्छ । जेठ महिनाको खडेरीले बारीमा लगाएका मकै सुकेर गएका छन् । असार लाग्दा पनि वर्षा नभएपछि अधिकांश किसानले लगाएको मकै सुकेर गएको छ ।

यस वर्ष बेँसीमा मात्र नभएर लेकाली भेगमासमेत वर्षा भएको छैन । जसले गर्दा लेकदेखि बेँसीसम्म मकै सुकेर गएको छ । ‘यति लामो खडेरी परेको थिएन, यस वर्षको खडेरीले बारीमा नै मकै सुकेर गयो’, खाँडादेवी गाउँपालिका–३ हिलेदेवीका तारा ग्यापकले भन्नु भयो ।

जेठदेखि नै वर्षा लाग्ने लेक भेगमा समेत पानी नपर्दा मकै सुकेर गएका छन् । ‘जेठबाट नै झरी पर्‍थ्यो, यस वर्ष असार लाग्दा पनि पानी परेको छैन, बालीनाली सबै सुकेर गयो’, गोकुलगंगा गाउँपालिका–४ का विनोद फुयाँल भन्नुहुन्छ ।

लेकमा भन्दा बेँसीमा खडेरीको प्रभाव बढी देखिएको छ । ‘मकैका बिरूवासुकेर गइसके, यस्तै हो भने अब खाने कुराको हाहाकार हुने भयो’, रामेछाप नगरपालिका–८ का कुवेर श्रेष्ठ भन्नु भयो ।


नबराज घिमिरे