क्षमता भन्दा बढी कैदिबन्दी हुँदा व्यवस्थापनमा कठिनाइ

  ०७३ साउन २५ गते

क्षमता भन्दा बढी कैदीबन्दी राख्नु परेकाले अधिकांश कारागारमा व्यवस्थापकीय कठिनाइ भएको सम्बन्धित कारागार प्रशासनले जनाएका छन् ।

जीर्ण र पुरानो भएको कास्की कारागारमा ६० जनाको क्षमता रहेको भएपनि यतिबेला ६ सय जना कैदीबन्दी रहेकाले व्यवस्थापनमा कठिनाइ भएको कारागार प्रशासनले जनाएको छ ।

इन्सेक कास्की जिल्ला प्रतिनिधि विष्णुप्रसाद अधिकारीका अनुसार ४६ जना महिला, २१ जना विदेशी, एकजना आश्रति नाबालक र अन्य ५ सय ३२ जनासहित ६ सय जना कैदीबन्दी रहेका छन् ।

'घ' श्रेणीको उक्त कारागारको नयाँ भवन हालै निर्माण सम्पन्न गरी २ सय २८ जना कैदीबन्दीलाई स्थानान्तरण गरिएको भए पनि बाँकी ३ सय ७२ जना कैदीबन्दीको व्यवस्थापनमा निकै कठिनाइ भएको कास्की कारागारका निमित्त प्रमुख शिवप्रसाद पौडेलले बताए ।

जीर्ण भवनमा पानी चुहिने गरेकाले प्रशासनको सहयोगमा छानामा त्रिपाल हालिएको बन्दी अनुप गुरुङले बताए ।

क्षमता भन्दा १० गुण बढी कैदीबन्दी रहेका कारण कारागार भित्र शौचालय, औषधि उपचार, सुत्नेलगायतका समस्या रहेको बन्दी लक्षमण गुरुङले बताए ।

त्यसैगरी पुरुष बन्दी गृह समयमा बनाउन नसक्दा पाल्पा कारागारका कैदीबन्दी भत्कनै लागेको भवनमा जोखिम मोलेर बस्न बाध्य भएका छन् ।

इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमल्सिनाका अनुसार ०६८ असार १६ गते सम्झौता भई ०७० वैशाख १६ गतेसम्म कार्यसम्पन्न गर्नुपर्ने सहमति भएको बन्दी गृह निर्माणको काम ३ पटक अवधि थप गर्दासमेत ७० प्रतिशतभन्दा काम हुन सकेको छैन ।

उक्त भवन निर्माणको ठेक्का विरुवा सुन्दरी गोरखा जेभीले लिएको छ । भवन डिभिजन कार्यालयका इञ्जिनियर हरिभक्त श्रेष्ठले असार मसान्तमा म्याद सकिएकोले पुनः म्याद थप गर्न कारागार विभागमा पठाइएको बताए । उनले निर्माण ब्यवसायीको ढिलासुस्तीका कारण समयमा काम सम्पन्न हुन नसकेको बताए ।

१९८३ सालमा निर्माण गरिएको कारागारका भवनहरू अधिकांश जीर्ण र भत्कने अवस्थामा रहेका छन् । ०७२ साल वैशाखको भूकम्पका कारण भत्किएका दुई ओटा भवनको सामान्य मर्मत गरेर कैदीबन्दीलाई सोही भवनमा राखिएको छ । अन्य भवनसमेत जीर्ण भएकोले दलिनमा टेको लगाएर राखिएको छ ।

अहिले जिल्ला कारागार पाल्पामा पाँच जना आश्रति बालबालिका, २ सय ५ जना पुरुष र ७० जना महिला कैदीबन्दी रहेका पाल्पा जिल्ला कारागारकी जेलर सुजाता कार्कीले बताइन् । कारागारको क्षमता भने ३ सय जनाको रहेको कार्कीले बताइन् ।


अनलाइन डेस्क